श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल


काठमाडौँ, भदौ १९। राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनुभएको छ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।
स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति पौडेलले बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्दै आपसी सद्भाव कायम गर्न र सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव, करुणा, कर्म, योग र मैत्रीभाव बढाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।






















