गण्डकी प्रदेश, सूचना / प्रबिधि

पत्रकारको क्यामेराबाट प्रधानमन्त्रीको भिडियो सेनाले किन हटायो ?

नवलपुर टुडे
२०८३ भदौ ८ | बिहान ०७:०५ बजे

पोखरा । पोखरा भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहको भिडियो खिचेको भन्दै उनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले एक पत्रकारको क्यामेराबाट भिडियो हटाएको छ। मुस्ताङ भ्रमण सकेर आइतबार पोखरा फर्किएका प्रधानमन्त्री शाह पोखरा–१४ स्थित मझेरी मन्जिल रिसोर्टमा बसेका बेला ‘मेरो साथी टीभी डटकम’का पत्रकार सुरेश सुनारले भिडियो खिचेका थिए।

पत्रकार सुनारका अनुसार रिसोर्टको गेटबाट भिडियो खिच्न नदिएपछि उनले विजयपुर खोलापारिबाट रिसोर्ट परिसरमा बसिरहेका प्रधानमन्त्रीको दृश्य क्यामेरामा कैद गरेका थिए। पारिपट्टिबाट भिडियो खिचिरहेको देखेपछि सेनाको टोली गाडी लिएर आएको र ‘निजी भ्रमण’ भएको भन्दै क्यामेरामा भएका दृश्यहरू एक-एक गरी डिलिट गर्न लगाएको सुनारले बताए।

यसअघि शुक्रबार सडक मार्ग हुँदै परिवार, सचिवालय टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)सहित पोखरा आएका प्रधानमन्त्री शाह मुस्ताङ जाने क्रममा माछापुच्छ्रे गाउँपालिकाको अस्तामस्थित अन्नपूर्ण इको भिलेज लजमा बसेका थिए। त्यहाँ पनि सेनाले सुरक्षा कडा पार्दै सञ्चारकर्मीलाई आधा किलोमिटर वरै रोकेको थियो भने लजका कर्मचारीलाई परिचयपत्रका आधारमा मात्र प्रवेश दिएको थियो।

पत्रकारको क्यामेराबाट भिडियो हटाएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले आपत्ति जनाएको छ। महासंघ कास्कीका अध्यक्ष माधव बरालले सार्वजनिक पदमा रहेका व्यक्तिको रिपोर्टिङ गर्दा सेनाले भिडियो डिलिट गर्नु प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार भएको बताए। यता जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्रांगत बरालले भने घटनाबारे पूर्ण जानकारी नभएको उल्लेख गर्दै सार्वजनिक स्थलमा भिडियो खिच्न प्रशासनले कुनै रोकटोक नगरेको स्पष्ट पारे।

कमेन्टहरु