कृषि

झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

नवलपुर टुडे
२०८३ भदौ १ | मध्यान्ह ०३:०५ बजे

स्याङ्जा। मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन्। उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन्। यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार अकबरे खुर्सानी खेती बनेको छ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ रियालेका बाँदरले नखाने, बजार मूल्य राम्रो भएको र खेती गर्न सरल हुने भएकाले उनले अकबरे खुर्सानीको व्यावसायिक खेती गरेका हुन्। “१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरु लगाएको छु,” उनले भने, “अहिले त आम्दानी लिन थालिसकेको छु ।”

उनले साउन मसान्तसम्म ८०० केजी खुर्सानी प्रतिकेजी २०० का दरले बिक्री गर्दै आएका छन्। बारीमा एक हजार २०० केजी खुर्सानी टिप्न बाँकी छ। उनले छोटो अवधिमा खुर्सानी बिक्रीबाट रु एक लाख ६० हजार आम्दानी गरेका छन्।

“यहाँ उत्पादन भएको खुर्सानी बिक्रीका लागि अहिलेसम्म बजारको समस्या छैन,” उनले भने, “खुर्सानी स्थानीय बजार तथा पोखराका बजारमा बिक्री हुँदै आएको छ।”

चार वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गरेका उनले आफ्नै गाउँ ठाउँमा फर्केर व्यावसाय गर्ने क्रममा खुर्सानी खेती रोजेका हुन् । बाँझो रहेको जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा उनलाई लिन सकिन्छ।

कमेन्टहरु