काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०८२/०८३ मा देशभरबाट १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीका साथै अन्य अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले विभिन्न जिल्लामा नियमित गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनाका आधारमा सञ्चालन गरेको कारबाहीका क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो। बरामद गरिएका सामान भन्सार तथा राजस्व कार्यालयसहित सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार सबैभन्दा धेरै अवैध सामान भारतसँग सीमा जोडिएको पर्सा जिल्लाबाट बरामद भएको छ। पर्साबाट मात्रै २५ करोड ११ लाख ९४ हजार २५४ रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीका सामान नियन्त्रणमा लिइएको छ।
त्यस्तै, बाँकेबाट १३ करोड ६२ लाख २१ हजार १३८ रुपैयाँ, झापाबाट १३ करोड ८ लाख ८९ हजार ८८१ रुपैयाँ, रुपन्देहीबाट १२ करोड ८८ लाख २४ हजार ४२१ रुपैयाँ र कैलालीबाट १२ करोड ४२ लाख १० हजार ४२८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।
सिराहा, कञ्चनपुर, सर्लाही, पश्चिम नवलपरासी र बारालगायतका सीमा जिल्लाबाट पनि उल्लेख्य परिमाणमा अवैध सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। मोरङ, धनुषा, रौतहट, महोत्तरी, कपिलवस्तु र सुनसरीलगायतका जिल्लाबाट समेत करोडौँ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका खाद्यान्न, लत्ताकपडा, औषधि, किराना तथा हार्डवेयरका सामान, सुनचाँदी, पन्छी तथा पशुचौपाया र वनपैदावारलगायतका वस्तु बरामद गरिएको हो। अवैध सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधनसमेत नियन्त्रणमा लिइएको छ।
त्यस्तै, नेपालबाट वा नेपाल हुँदै अन्य मुलुकतर्फ लैजान खोजिएका अवैध सामानसमेत नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
सीमा क्षेत्रमा तैनाथ इकाइहरूले नियमित गस्ती तथा चेकजाँचसँगै विशेष सूचनाका आधारमा कारबाही सञ्चालन गर्दै आएका छन्। चोरीपैठारी तथा निकासी नियन्त्रणका लागि भन्सार विभाग, अन्य सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले अवैध गतिविधि नियन्त्रणसँगै राजस्व संकलनमा समेत सशस्त्र प्रहरीले उल्लेखनीय योगदान गर्दै आएको बताएका छन्।

























