चितवनमा धानखेती हुने क्षेत्रफल बढ्यो


चितवन, असार १५। जिल्लामा धान ‘जोन’को क्षेफल बढेको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्यन एकाइ चितवनका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवमा धानखेती गर्ने क्षेत्रफल बढेको हो ।एकाइ प्रमुख महेश रेग्मीका अनुसार गत आवको तुलनामा यस आवमा जोन क्षेत्रमा धानखेती गर्ने क्षेत्रफल ४५० हेक्टर बढेर आठ हजार ९०० हेक्टर क्षेत्रफल पुगेको छ । जिल्लाका चार पालिकामा धान जोन कार्यक्रम लागू गरिएको छ ।
कार्यालयले धान जोनका लागि ११ वटा धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा हाल पाँचदेखि सात प्रतिशत धान रोपाइँ भएको छ । कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार गत वर्ष यो समयमा १० देखि १५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको थियो । धान रोप्न पुग्ने गरी वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ कम भएको उहाँले बताउनुभयो । धेरै क्षेत्रफलमा धान रोपाइँको तयारी गरिएको भन्दै उहाँले अब चाँडै किसना धान रोप्न लाग्ने बताउनुभयो ।



















