कृषि

दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मर उपलब्ध गराउन कृषकको माग

पुरुषोत्तम सुवेदी
२०८३ जेष्ठ ४ | मध्यान्ह १२:०२ बजे

पश्चिम नवलपरासी , जेठ ४ गते । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका अन्तर्गत वडा न. १२ जहदा पजरकट्टीका स्थानीय कृषकहरूले कृषि सिँचाइका लागि तत्काल ५० केभी क्षमताको ट्रान्सफर्मर उपलब्ध गराइदिन नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन् ।

करीब दुई वर्ष अगाडि स्थानीय ‘ डिप ट्युबेल’ को ट्रान्सफर्मर चोरी भएपछि सो क्षेत्रमा सिँचाइ कार्य पूर्ण रूपमा ठप्प भएको भन्दै कृषकहरूले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय सांसद विक्रम खनाल मार्फत प्राधिकरणको केन्द्रीय कार्यालयमा सामूहिक निवेदन पठाएका हुन्।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकलाई सम्बोधन गर्दै बुझाइएको मागपत्रमा ट्रान्सफर्मर नहुँदा लामो समयदेखि डिप ट्युबेलमार्फत खेतीपाती गर्न नपाइएको र यसले गर्दा जल उपभोक्ता तथा कृषकहरूलाई ठूलो आर्थिक क्षति र असुविधा पुगेको उल्लेख गरिएको छ ।

स्थानीय कृषकहरू गिरीस बहादुर चौधरी, अनिरुद्ध चौधरी, अनिरुद्ध हरिजन, इस्लाम मुसलमान र प्रेम बहादुर चौधरी लगायतको संयुक्त हस्ताक्षरमा बुझाइएको उक्त पत्रमा कृषि कार्यलाई सहज बनाउन र कृषकहरूको जीविकोपार्जनलाई ध्यानमा राख्दै यथाशीघ्र ५० केभीको ट्रान्सफर्मर जडान गरिदिन विनम्र अनुरोध गरिएको छ ।

लामो समयसम्म सिँचाइ सुविधाबाट वञ्चित हुनुपर्दा राष्ट्रिय उत्पादनमै असर पुग्ने भन्दै स्थानीयले यस विषयमा प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।

तस्वीर – ट्रान्सफर्मर उपलब्ध गराइदिन माग गर्दै स्थानीय कृषकहरू ।

WhatsApp Image 2026 05 18 at 10.04.35

कमेन्टहरु