प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

रासस


काठमाडौँ । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उनीप्रति सम्मान प्रकट गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्रनिर्माताको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी उनीप्रति सम्मान व्यक्त गरेका हुन् ।
त्यस अवसरमा सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । पूर्व प्रधानसेनापति, रथीवृन्द र सकल दर्जाले पनि त्यस अवसरमा सालिकमा माल्यर्पण गरी सलामी अर्पण गरेका थिए ।
त्यसअघि ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा त्यहाँ आयोजित विशेष समारोहस्थल पुगेर समापन भएको थियो ।
पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) को झण्डा र टर्चसहित गोरखामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहितको टोली थियो ।
पछिल्लो समय हरेक वर्ष हुँदैआएको उक्त पदयात्रा यही पुस २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको थियो । सोही अवसरमा जङ्गीअड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको देनसम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रम गरियो ।
त्यस्तै, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा विविध कार्यक्रम सञ्चालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको छ ।

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या
अरुपनि पढ्नुहोस
सबै
पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ


विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
















