पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

नवलपुर टुडे

सारांश
- पाल्पाको रामपुर नगरपालिकामा विभिन्न संस्थाको साझेदारीमा भूकम्पले चर्किएका घर भएका तीन असहाय महिलाहरूलाई सुरक्षित नयाँ घर हस्तान्तरण गरिएको छ।
- नगरपालिका र टुकी फाउन्डेसनको आर्थिक सहयोगमा निर्माण भएका यी दुईकोठे भूकम्प प्रतिरोधी घरहरूले गर्दा उनीहरूको डरैडरमा रात काट्नुपर्ने बाध्यता हटेको छ।
- घर हस्तान्तरणसँगै उनीहरूलाई आत्मनिर्भर बनाउन बालबालिकाको शिक्षा, आयआर्जन तथा रोजेको व्यवसाय सञ्चालनका लागि समेत आर्थिक सहयोग गर्ने योजना अघि बढाइएको छ।

पाल्पा । श्रीमान् गुमाएको पीडा । भूकम्पले चर्किएको घर । वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता । रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन सहज थिएनन् । दुःखपछि सुख फर्किन्छ भने जस्तै, यसपटकको तिहार उनका लागि विगतभन्दा फरक हुने भएको छ ।
सुरक्षित घर पाएपछि रानाले खुसी व्यक्त गर्दै भनिन्, “हाम्रा दुःखका दिन सकिएको जस्तो लागेको छ ।” उनले घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । अब चर्किएको घरमा डरैडरमा रात काट्नुपर्ने वाध्यता हटेको छ । नयाँ सुरक्षित घरमा परिवारसँगै उज्यालोको पर्व मनाउने अवसर प्राप्त भएको छ । रानासँगै रामपुर नगरपालिका–२ खयरबोटकी बन्दना विश्वकर्मा र वडा नं ६ माझटोलकी गनमाया घर्तीको जीवनमा नयाँ खुसी थपिएको छ ।
रामपुर नगरपालिका, गैरसरकारी संस्था ‘निवास’ को सहयोग, टुकी फाउन्डेसन आर्थिक साझेदारीमा निर्माण गरिएका दुई कोठे भूकम्प प्रतिरोधी घर र शौचालय पाएपछि उनीहरुले सुरक्षित आवासको सपना पूरा गरेका छन् । “चर्किएको पुरानो घरमा डरैडरमा दिन काट्नु परेको थियो, अहिले चिटिक्क परेको आफ्नै सुरक्षित घर पाउँदा खुसीको सीमा नै छैन,” घरको साँचो बुझ्दै घर्तीले खुसी व्यक्त गरिन् ।
तीन परिवारलाई घर हस्तान्तरण गर्दै नगर प्रमुख रमणबहादुर थापाले आवाससँगै आत्मनिर्भर बनाउने कार्यक्रम अघि बढाइने बताउनुभयो । बालबालिकाको शिक्षा र परिवारको आयआर्जनमा नगरपालिकाले सहयोग गर्ने उनको भनाइ छ ।
टुकी फाउन्डेसनका कार्यकारी निर्देशक शिला सेनका अनुसार एउटा घर निर्माणमा आठ लाख १४ हजार ६८० खर्च भएको छ । नगरपालिकाले प्रतिघर रु दुई लाख ५० हजार सहयोग गरेको छ भने बाँकी रकम फाउन्डेसनले व्यहोरेको हो ।
घर हस्तान्तरणसँगै उनीहरूलाई आफूले रोजेको व्यवसाय सञ्चालन गर्न प्रतिपरिवार रु ३० हजार सहयोग गर्ने योजना छ । वर्षायाममा ओतको चिन्ता र सधैँ असुरक्षित घरको पीडा बोकेका यी आमाका लागि यसपटक तिहार केवल बत्ती बाल्ने पर्व मात्र हुने छैन, सुरक्षित घरमा नयाँ आशा र खुसी साट्ने अवसर बन्नेछ ।

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ


विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
अरुपनि पढ्नुहोस
सबै
बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …
















