Opens in a new tab

एक युवकमाथि गोली प्रहार

अशोक यादव

3.5KShares

सारांश

  • रौतहटको गौर नगरपालिकामा अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।
  • वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत यादवको शरीरमा तीनवटा गोली लागेको पुष्टि भएको छ भने उनको अवस्था चिन्ताजनक छ।
  • घटनाको कारण र संलग्न व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ भने दोषीको खोजी कार्य तिब्र पारिएको छ।
dida bag ad

राैतहट कार्तिक १८ । रौतहटको सदरमुकाम गौरमा मंगलबार राति अज्ञात समूहले एक युवकमाथि गोली प्रहार गरेको छ। गोली लागेर गौर नगरपालिका–४ गढवाका स्थानीय रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार राति करिब ९:१५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक उभिएका यादवलाई लक्षित गरी अज्ञात व्यक्तिले एक्कासि पाँच राउन्ड गोली चलाएका थिए। अचानक गोलीको आवाज गुन्जिएपछि क्षेत्रमा भागदौड र त्रास फैलिएको थियो। स्थानीयले तत्काल घाइते यादवलाई उद्धार गरी उपचारका लागि पठाएका थिए।

घाइते यादवको हाल वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी वसन्त गौतमका अनुसार घाइतेको सिटी स्क्यान गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको पुष्टि भएको छ। शरीरका अन्य भागमा पनि गोलीका चोटहरू देखिएका छन्। अवस्था चिन्ताजनक रहे पनि घाइते यादव चिकित्सकहरूसँग सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटना लत्तकै जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोली पुगेर अनुसन्धान सुरु गरेको छ। आक्रमणमा संलग्न व्यक्ति वा समूहको पहिचान अझै हुन सकेको छैन भने घटनाको कारण पनि खुल्न नसकेको डीएसपी गौतमले बताए। प्रहरीले सम्भावित शङ्कास्पद स्थलहरूमा खोजी कार्य तीव्र बनाएको छ।

सदरमुकाम क्षेत्रमै रातिको समयमा भएको यस घातक आक्रमणले स्थानीयवासीमा त्रास बढाएको छ। घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीयले माग गरेका छन्।

अरुपनि पढ्नुहोस

सबै