हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

एजेन्सी

सारांश
- हङकङका लोकतन्त्र समर्थक आन्दोलनका प्रमुख अनुहार जोसुवा वङलाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।
- सन् २०२० मा चीनद्वारा लागू गरिएको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत वङमाथि बेइजिङविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धको माग गर्दै पैरवी गरेको आरोप लगाइएको छ।
- मानव अधिकारवादीहरूले यस फैसलालाई राजनीतिक दमनको रूपमा व्याख्या गरेका छन् भने यसअघि जिमी लाइलाई पनि यस्तै अभियोगमा २० वर्षको सजाय सुनाइएको थियो।

हङकङ । हङकङको लोकतन्त्र समर्थक आन्दोलनका प्रमुख अनुहार जोसुवा वङलाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।
चीनको बढ्दो नियन्त्रणविरुद्ध लोकतन्त्रको माग गर्दै भएका आन्दोलनमा अग्रणी भूमिका खेलेका ३० वर्षीय वङलाई हङकङको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत बिहीबार सजाय सुनाइएको हो ।
वङ यसअघि नै विध्वंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका थिए । उनी आगामी जनवरीमा रिहा हुने तयारीमा थिए । तर, पछिल्लो फैसलासँगै उनले थप एक दशक जेलमा बिताउनुपर्ने भएको छ । नयाँ सजायमध्ये दुई महिना दुई दिनको अवधि भने यसअघिको सजायसँगै गणना हुने अदालतले जनाएको छ ।
सन् २०२० मा चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि वङसहित सयौँ लोकतन्त्र समर्थक अभियन्ता तथा सर्वसाधारण पक्राउ परेका थिए । उक्त कानुनले असहमतिको आवाज दबाएको मानव अधिकारवादीहरूको आरोप छ । तर, हङकङका अधिकारीहरूले भने शान्ति र स्थायित्व कायम गर्न कानुन आवश्यक रहेको बताएका छन् ।
अभियोजन पक्षका अनुसार वङले निर्वासनमा रहेका अर्का अभियन्ता नाथन ल लगायतसँग मिलेर बेइजिङविरुद्ध विदेशी प्रतिबन्ध र नाकाबन्दी लगाउन अन्तर्राष्ट्रिय समुदायसँग पैरवी गरेका थिए । सन् २०२० को जुलाईदेखि नोभेम्बरसम्म भएका गतिविधिलाई विदेशी शक्तिसँगको साँठगाँठका रूपमा व्याख्या गरिएको छ । वङले गत सेप्टेम्बरमा उक्त अभियोग स्वीकार गरेका थिए ।
वङका साथी तथा अभियन्ता फ्रान्सिस हुईले फैसलाप्रति दुःख र आक्रोश व्यक्त गर्दै यसलाई हङकङको लोकतन्त्रवादी पुस्ताको योगदान मेटाउने राजनीतिक दमनको हिस्सा भनेकी छन् ।
वङले १४ वर्षको उमेरमै सन् २०११ मा विद्यार्थी समूह ‘स्कलरिज्म’ स्थापना गरेर राजनीतिक अभियान सुरु गरेका थिए । सन् २०१४ को ‘अम्ब्रेला मुभमेन्ट’ र सन् २०१९ को लोकतन्त्र समर्थक आन्दोलनमा उनी प्रमुख अनुहार बनेका थिए । सन् २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि उनको राजनीतिक दल ‘डेमोसिस्टो’ विघटन भएको थियो ।
यसअघि सञ्चार उद्यमी तथा लोकतन्त्र समर्थक जिमी लाइलाई पनि विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
अरुपनि पढ्नुहोस
सबै
बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति
















