जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

नवलपुर टुडे

सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएको भूगर्भविद्को टोलीले म्याग्दीको बेनी बजारसँग जोडिएको पर्वतको जलजला गाउँपालिकामा मनसुनजन्य विपद्बाट प्रभावित पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरेको छ।
- गत असोजको बाढीपहिरोका कारण जलजला गाउँपालिकामा ३१६ घरमा क्षति पुगेको छ भने यसबाट निजी आवास, खेतीयोग्य जमिन र विभिन्न पूर्वाधारमा ठूलो नोक्सानी भएको छ।
- टोलीले जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण, ड्रोनबाट तस्बिर र माटोको नमुना सङ्कलन गरेको छ भने प्राप्त प्रतिवेदनको सुझावका आधारमा अब पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाइनेछ।

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो ।
भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मंगलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ पहिरोको अध्ययन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । “आज केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पहिरोको अध्ययन गर्ने छौँ”, उनले भने, “विपद्बाट क्षति पुगेका बस्तीमा थप जोखिमको पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो ।”
भौगर्भिक अध्ययन प्रतिवेदनको सुझावका आधारमा पुनर्निर्माणको काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताए । टोलीले क्षति भएका, जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण, ढुंगा, माटोको नमुना र ड्रोन क्यामेराको तस्बिरसहित श्रव्यदृश्य संकलनका साथै प्रभावितसँग छलफल गरेको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजलामा ३१६ घरमा क्षति पुगेको उनले जानकारी दिए ।
१२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुग्नुका साथै १४० घर जोखिममा रहेका प्रारम्भिक विवरण संकलन भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनका बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ ।
अध्यक्ष आचार्यका अनुसार, सबैभन्दा बढी कालीगण्डकीको जलजला गाउँपालिका–८ फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन् । बाढी प्रभावितमध्ये अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ । फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् । वडा नं ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ ।
अध्यक्ष आचार्यले पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका बताए । प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनर्स्थापनाको कार्ययोजना अघि बढाइएको उनले उल्लेख गरे ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















