डा. जागेश्वर गौतमको सरुवा प्रधानमन्त्रीले रोके


काठमाडौं । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्री स्तरीय निर्णयलाई स्थगित गरेका छन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए ।
त्यसैगरी युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।
तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले पनि प्रधानमन्त्री कार्यालयबाट निर्णयलाई कार्यान्वयन नगर्न निर्देशन आएको पुष्टि गरेका छन् ।






















