Opens in a new tab

अर्थ

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

रासस
२०८२ भदौ १० | मध्यान्ह ०४:०५ बजे

नेपालगञ्ज  । भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका छन्।स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका हुन्।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी सङ्क्रमितलाई सेरोपोजेटिभ बिरामीको रुपमा परिभाषित गरिएको जानकारी दिए। बिरामीले एक वर्षमा रु तीन लाखबराबरको डाइलायसिस सेवा पाउनेछन्।

अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुवेदीले बुधवारबाट सो सेवा सुरु हुने जानकारी दिए।

हालसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डाइलायसिस, स्पाइन इन्जुरी, हेडइन्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधोपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएका थिए।

अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचीकृतको अन्तिम तयारी थालिएको छ। सूचीकृत भए मिर्गौला प्रत्यारोपणका बिरामीहरुले भेरी अस्पतालबाटै रु सात लाख पाउनेछन्। सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु चार लाख, औषधि खर्चबापत रु दुई लाख पाउने भएका हुन्।

कमेन्टहरु