शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

नवलपुर टुडे

सारांश
- तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले तिहारमा सयपत्री फूल बिक्री गरेर नौ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेका छन्।
- यस वर्ष स्थानीय किसानले दुई हजार ७६० किलोग्राम फूल बिक्री गरेका छन्, जसमध्ये मुक्ति सिग्देलले सबैभन्दा बढी ६८५ किलो फूल बेचेका छन्।
- स्थानीय उत्पादनले बजार पाएपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता घटेको छ भने किसानहरू व्यावसायिक फूलखेतीप्रतिका उत्साहित भएका छन्।

तनहुँ । तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार ७६० किलोग्राम फूल बिक्री गरेका हुन् ।
स्थानीय किसानले उत्पादन गरेको सयपत्री फूलले बजार पाएपछि उनीहरू उत्साहित भएका छन् । किसानले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजारबाट र आफ्नै बारीबाट फूल बिक्री गरेका थिए । स्थानीयस्तरमै उत्पादन भएको फूल उपभोक्तासम्म पुग्दा किसानलाई आम्दानीको अवसर मिलेको छ भने तिहारमा बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यतामा कमी आएको छ ।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले स्थानीय किसानको उत्पादनले बजार पाएको बताउनुभयो । किसानले उत्पादन गरेको फूल बिक्री हुनु सकारात्मक भएको उल्लेख गर्दै उनले स्थानीय उत्पादनको प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न बजारको पहुँच महत्त्वपूर्ण हुने बताए ।
यस वर्ष फूल बिक्री गर्ने किसानमध्ये मुक्ति सिग्देलले सबैभन्दा बढी ६८५ किलो सयपत्री बिक्री गरेका छन् । त्यस्तै सुदीप रेग्मीले ३८५ किलोग्राम, शान्ति भण्डारीले २०० किलोग्राम, सुरज वाग्लेले १७० किलोग्राम तथा ओमप्रकाश पौडेल, विनोद विश्वकर्मा र चन्द्रकला राईले जनही १५० किलोग्राम फूल बिक्री गरेका छन् ।
त्यसैगरी, महेन्द्रकुमार श्रेष्ठले १२० किलोग्राम, मञ्जु श्रेष्ठले १०५ किलोग्राम र सन्तोष भट्टराईले १०० किलोग्राम फूल बिक्री गरेका छन् ।
स्थानीय किसान सुरज वाग्लेले आफूले उत्पादन गरेको सयपत्री फूलले बजार पाउँदा उत्साहित भएको बताए । स्थानीय उत्पादनले उपभोक्ताको माग पूरा गर्नसके किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए ।
तिहारमा सयपत्री फूलको माग बढी हुने भएकाले किसानका लागि फूलखेती आम्दानीको राम्रो माध्यम बन्दै गएको छ । घर, मठमन्दिर तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा प्रयोग हुने सयपत्री फूलको मागलाई स्थानीय उत्पादनले सम्बोधन गर्न थालेको छ ।


दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत

संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै
अरुपनि पढ्नुहोस
सबै
आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान

धान काट्न व्यस्त छन् इलामका किसान
















