Opens in a new tab

दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

एजेन्सी

325Shares

सारांश

  • दक्षिण कोरियाको कर लेखापाल परीक्षामा पहिलो स्थान हासिल गरेका हान वोन-सोकले क्यामेरा, मोबाइल र कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर नक्कल गरेको स्वीकार गरेका छन्।
  • अस्वाभाविक रूपमा उच्च अंक आएपछि शंका उत्पन्न भएको थियो र उनले इमानदारीपूर्वक परीक्षा पास गर्ने अन्य परीक्षार्थीहरूसँग माफी पनि मागेका छन्।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने सरकारले एआईमार्फत गरिएको यो cheating का कारण योग्यता खारेज गरी पाँच वर्षसम्म प्रतिबन्ध लगाउने तयारी गरेको छ।
dida bag ad

दक्षिण कोरियामा आधिकारिक कर लेखापाल परीक्षामा पहिलो स्थान हासिल गरेका एक परीक्षार्थीले सानो क्यामेरा, मोबाइल फोन र एआईको प्रयोग गरेर नक्कल गरेको स्वीकार गरेका छन् ।

हान वोन-सोकले आफ्ना वकिल ली डोन-होको युट्युब अकाउन्टमार्फत सार्वजनिक भिडियोमा आफूले परीक्षामा नक्कल गरेको स्वीकार गरेका हुन् । उनले यसबारे सोल महानगरीय प्रहरी कार्यालयमा समेत जानकारी गराएको र कसरी नक्कल गरिएको थियो भन्ने विवरण पनि दिएको बताएका छन् ।

३४ वर्षीय हानले परीक्षाको पहिलो चरणमा ४०० पूर्णाङ्कमध्ये ३९७.५ अंक ल्याएका थिए । १६० वटा प्रश्नमध्ये उनले एउटामा मात्र गलत उत्तर लेखेका थिए । अस्वाभाविक रूपमा उनको उच्च अंक आएपछि सुरुमै शंका उत्पन्न भएको थियो । त्यसपछि सामाजिक सञ्जालमा उनले नक्कल गरेको हुन सक्ने भन्दै अड्कलबाजी भएको थियो ।

दक्षिण कोरियामा राष्ट्रियस्तरका प्रतिस्पर्धात्मक परीक्षाले मानिसको करियर र भविष्य निर्धारण गर्न ठुलो भूमिका खेल्छन् । त्यसैले परीक्षाको नतिजा राम्रो बनाउन गरिने अनुचित गतिविधिलाई त्यहाँ निकै गम्भीर रूपमा लिइन्छ ।

आइतबार सार्वजनिक गरिएको भिडियोमा हानले भनेका छन्, ‘मैले इलेक्ट्रोनिक उपकरण र जेनेरेटिभ एआई प्रयोग गरेर कर लेखापाल परीक्षाको पहिलो र दोस्रो दुवै चरणमा नक्कल गरेको हुँ ।’

हानका अनुसार उनले सानो क्यामेरा प्रयोग गरेर परीक्षाका प्रश्नहरूको फोटो खिचेर एआईमा पठाएका थिए । उनले भने, ‘त्यसपछि आफ्नो मोबाइल फोनमा आएका उत्तर हेरेर नक्कल गरेँ ।’

सुरुमा आफूमाथि नक्कल गरेको आरोप लाग्दा हानले त्यसलाई अस्वीकार गरेका थिए । तर, पछि आफूले गरेको कामबारे सोच्दा दोस्रो स्थान हासिल गर्ने परीक्षार्थीको भावनालाई पनि विचार गर्नुपर्ने महसुस भएको उनले बताए । त्यसपछि आफूले नक्कल गरेको स्वीकार गर्ने निर्णयमा पुगेको उनको भनाइ छ ।

उनले इमानदारीपूर्वक परीक्षा उत्तीर्ण गरेका अन्य परीक्षार्थीसँग पनि माफी मागेका छन् । ‘मेरो कारणले गर्दा इमानदारीपूर्वक परीक्षा उत्तीर्ण गरेका अन्य परीक्षार्थीमाथि पनि शंका उत्पन्न भएको जस्तो लाग्छ,’ उनले भने ।

हानले नक्कल गरेको स्वीकार गरेपछि दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विकास सेवाले आकस्मिक बैठक आयोजना गरेका छन् ।

दक्षिण कोरियाका राष्ट्रपतिको नीति प्रमुख हा जुन-क्युङले भविष्यमा परीक्षामा हुने नक्कल रोक्न नयाँ उपायहरू लागु गरिने बताएका छन् । उनले विगतमा भएका यस्ता अपराधको समेत खोजी गरी दोषीलाई अन्तिमसम्मै कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन् ।

सरकारका अनुसार कर लेखापाल परीक्षामा एआई प्रयोग गरेर नक्कल गरेको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको योग्यता रद्द गरिनेछ । साथै, उनलाई पाँच वर्षसम्म पुनः परीक्षा दिन प्रतिबन्ध लगाइनेछ ।

यो घटना दक्षिण कोरियाको वार्षिक कलेज प्रवेश परीक्षाको केही दिनअघि सार्वजनिक भएको हो । उक्त परीक्षा त्यहाँका विद्यार्थीका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।

हानले आफूले पैसा कमाउन र आफ्ना आमाबुबालाई फेरि गर्व महसुस गराउन सक्ने जागिर पाउनकै लागि नक्कल गरेको बताएका छन् ।

सोल महानगरीय प्रहरी कार्यालयले आइतबार दक्षिण कोरियाली समाचार संस्था योनहापलाई दिएको जानकारीअनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीले एक विज्ञप्तिमा भनेको छ, ‘परीक्षार्थीका वकिलमार्फत आज बिहान कर लेखापाल परीक्षामा नक्कल गरेको सम्बन्धमा लिखित स्वीकारोक्ति प्राप्त भएको छ ।’

प्रहरीका अनुसार उक्त मुद्दा अब अनुसन्धान टोलीलाई जिम्मा लगाइएको छ । दक्षिण कोरियामा राष्ट्रिय स्तरका परीक्षालाई अत्यन्त महत्त्वका साथ हेरिने भएकाले परीक्षामा नक्कल गर्ने घटना नयाँ होइनन् । पछिल्लो समय प्रविधिको विकाससँगै एआई प्रयोग गरेर नक्कल गर्ने घटनाहरू पनि बढ्दै गएका छन् ।

गत महिना सोलका दुई विश्वविद्यालयमा प्रवेश परीक्षाका क्रममा दुई जना विद्यार्थीले एआईयुक्त चस्मा प्रयोग गरेर नक्कल गर्ने प्रयास गरेको खबर सार्वजनिक भएको थियो ।

त्यसैगरी, शिक्षा मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो १२ महिनामा माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा एआई चस्माको प्रयोग गरेर नक्कल गरेका चार वटा घटना सार्वजनिक भएका छन् ।

अरुपनि पढ्नुहोस

सबै