बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

नवलपुर टुडे

सारांश
- म्याग्दीको सदरमुकाम बेनीबजारमा डेढ महिनाको प्रयासपछि डाँडाखर्क र रिठाखर्कको मुहानबाट अस्थायी पाइपलाइनमार्फत खानेपानी आपूर्ति पुनः सञ्चालनमा आएको छ।
- पहिरोका कारण मुख्य पाइपलाइनमा क्षति पुगेपछि वैकल्पिक तथा अस्थायी मार्गबाट प्रतिसेकेन्ड आठ लिटर पानी ल्याएर बेनी बजारमा वितरण गरिएको छ।
- बेनीमा खानेपानीको स्थायी र दीर्घकालीन समाधानका लागि १४ करोड ७० लाख तथा ७० करोड रुपैयाँ लागतका दुईवटा प्रस्ताव खानेपानी तथा ढल व्यवस्थापन विभागमा पेस गरिएको छ।

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइप लाइन बनाएर खानेपानी आपूर्ति गर्न थालेको हो ।
चौध किलोमिटर लामो मुख्य पाइप लाइन मर्मत गरेर यही कात्तिक २७ गतेदेखि पानी आपूर्ति गराउन थालिएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए । “डेढ महिनाको प्रयासपछि प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति गराउन थालेका छौँ”, उनले भने, “राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी र वैकल्पिक पाइप लाइन निर्माण गरिएको छ ।”
विपद्पछि कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुवडाबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको थियो । अम्रेनी र वडाको वैकल्पिक मुहान सुकिसकेका छन् । वैकल्पिक मुहान सुकेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउन पाइप लाइन मर्मत गरिएको हो ।
संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ । मागअनुसार आपूर्ति गर्न नसकेपछि उपभोक्तालाई आलोपालो प्रणालीअनुसार टोल विभाजन गरेर खानेपानी वितरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताए ।
प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइप लाइन विपद्पछि बन्द भएको थियो । अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइप लाइन विस्तार गरिएको हो ।
बेनीको कालीपुलदेखि बराहपाखोस्थित पानी सङ्कलन केन्द्र खण्डको पाइप लाइन खोरिया, खरेनी र बराहपाखोको पहिरोले जोखिममा परेपछि बजारको बाहिरी भागबाट वैकल्पिक पाइप लाइन बनाइएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए ।
सचिव रेग्मीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारी खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ ।

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना

करिब २२ करोडको लागुऔषधसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

प्रहरी कार्यालय परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

‘अस्ताउन लाग्या बेल’ टेकबहादुर बोगटी र निर्मला बुढाको देउडा गित सार्वजनिक

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र
अरुपनि पढ्नुहोस
सबै
जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
















