नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

एजेन्सी

सारांश
- अमेरिकी पक्षले युक्रेनलाई नेटोको सदस्यता दिने बदलामा डोनबास क्षेत्र रुसलाई छाड्ने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।
- भविष्यमा हुने शान्ति वार्ताका लागि फ्रान्स, जर्मनी, इटाली, बेलायत र पोल्यान्डलाई युरोपका तर्फबाट प्रतिनिधि पठाउन छनोट गरिएको छ।
- जेलेन्स्कीले कुनै पनि शान्ति सम्झौतामा युक्रेनको अन्तिम निर्णय युक्रेनी जनताले गर्ने र रुसको नियन्त्रणमा रहेको भूभागलाई मान्यता नदिने स्पष्ट पारेका छन्।

काठमाडौँ । रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासबीच अमेरिकाले युक्रेनलाई नेटो (उत्तर एटलान्टिक सन्धि संगठन) को सदस्यता दिने बदलामा डोनबास क्षेत्र रुसलाई छाड्ने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।
शनिबार सार्वजनिक वक्तव्यमा जेलेन्स्कीले अमेरिकी पक्षले पहिलोपटक यस्तो विकल्पबारे कुरा उठाएको बताएका छन् । उनका अनुसार अमेरिकी प्रतिनिधिहरूले युक्रेन नेटोमा सहभागी हुने अवस्था बनेमा डोनबासबाट पछि हट्न तयार हुन्छ कि हुँदैन भनेर सोधेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जेरेड कुसनर र स्टिभ विटकफले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । त्यसअघि अबुधाबीमा रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच दुई दिनसम्म छलफल भएको थियो । तर उक्त वार्ताबाट ठोस सहमति निस्कन सकेको थिएन ।
जेलेन्स्कीले अमेरिकी प्रस्तावले युक्रेनको नेटो सदस्यताको विषय फेरि शान्ति वार्ताको एजेन्डामा आएको संकेत गरेको बताए । युक्रेनले लामो समयदेखि नेटोको सदस्यता खोज्दै आएको छ । तर रुसले यसलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा भन्दै आएको छ र नेटो विस्तारलाई आफ्नो ‘रेड लाइन’ मानेको छ ।
जेलेन्स्कीका अनुसार पश्चिमी देशहरूले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग, त्यहाँको सेना र रक्षा क्षमतालाई ध्यानमा राख्दा युक्रेनलाई एक्लै छाड्न नसक्ने अवस्था छ । उनले पश्चिमी मुलुकहरूसँग सुरक्षा प्रत्याभूतिबारे छलफल भइरहेको पनि बताए ।
अमेरिकी विशेष दूत कुसनरले सामाजिक सञ्जालमा युद्ध अन्त्य गर्ने उपाय खोज्न निरन्तर प्रयास गरिने बताएका छन् । संवेदनशील कूटनीतिक छलफलका लागि आवश्यक गोपनीयता कायम राख्नु पनि प्राथमिकता रहेको उनको भनाइ छ । वार्ताका क्रममा केही नयाँ विचारहरू आएको र तिनमाथि छलफल भइरहेको उनले उल्लेख गरेका छन् ।
यसैबीच, भविष्यमा हुने शान्ति वार्तामा युरोपेली देशहरूलाई पनि सहभागी गराउने सहमति भएको छ । डब्लिनमा शुक्रबार भएको छलफलपछि फ्रान्स, जर्मनी, इटाली, बेलायत र पोल्यान्डलाई युरोपका तर्फबाट वार्तामा प्रतिनिधि पठाउन छनोट गरिएको छ ।
यता रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । शनिबार पूर्वी सहर पाभ्लोह्राद र जापोरिज्जिया नजिकैको एक गाउँमा भएका रुसी हमलामा केही मानिसको मृत्यु भएको बताइएको छ ।
जेलेन्स्कीले कुनै पनि शान्ति सम्झौतामा युक्रेनको अन्तिम निर्णय युक्रेनी जनताले नै गर्ने स्पष्ट पारेका छन् । रुसको नियन्त्रणमा रहेका कुनै पनि भूभागलाई युक्रेनले रुसी क्षेत्रका रूपमा मान्यता नदिने उनको भनाइ छ ।
युक्रेनको नेटो सदस्यता र डोनबासको भविष्य युद्ध अन्त्यका लागि जारी वार्ताका प्रमुख विवादित विषय हुन् । अमेरिकी प्रस्तावबारे नेटो र अमेरिकी प्रशासनले जेलेन्स्कीको दाबीमा प्रत्यक्ष प्रतिक्रिया दिएका छैनन् ।

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
अरुपनि पढ्नुहोस
सबै
अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

‘छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ’
















