Opens in a new tab

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

प्रदिप सिंह

29Shares
dida bag ad

लहान ।तराई–मधेशमा श्रद्धा र भक्तिभावका साथ मनाइने छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दैछन्। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नहाय–खायबाट सुरु भएको छठ आज तेस्रो दिन सन्ध्या अर्घ्यको विधिमा पुगेको हो।inbound943171186755305727
सूर्यदेव र छठी माताको पूजा आराधना गरिने छठ पर्वमा सन्तानको दीर्घायु, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रतालुहरू व्रत बस्ने गर्छन्।
पर्वलाई लक्षित गर्दै सिरहा जिल्लाका विभिन्न पोखरी, नदी तथा खोलाहरूमा घाट सजावट र व्यवस्थापनको काम गरिएको छ।inbound2573140930213481524
लहान नगरपालिका–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा उच्च माध्यमिक विद्यालयको पोखरीलाई आकर्षक रूपमा सजाइएको छ। त्यस्तै, डग्राहा टोलवासीले वर्षौंदेखि बलान नदीमा छठ पर्व मनाउँदै आएका छन्। यस वर्ष पनि सोही नदीमा पर्व मनाउने तयारी गरिएको छ।
खुटीखोलामा पनि विगतका वर्षहरूझैँ यस वर्ष छठ पूजाका लागि घाटहरू तयार पारिएका छन्।
यसैगरी, नवराजपुर गाउँपालिका–३ मझौरा गाउँस्थित पोखरीमा पनि आकर्षक सजावट गरी छठ पर्व मनाउने तयारी गरिएको छ।inbound402988886259357273
विशेषगरी तराई–मधेशका हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक मनाउँदै आएको छठ पर्व पछिल्लो समय धार्मिक तथा सामुदायिक सद्भावको पर्वका रूपमा समेत विकसित हुँदै गएको छ। हिन्दू धर्मावलम्बीबाहेक अन्य धर्म र समुदायका मानिसहरू पनि यस पर्वको तयारी, घाट सजावट तथा पूजाआराधनामा सहभागी हुन थालेका छन्।
जातीय तथा धार्मिक विभेदभन्दा माथि उठेर सामूहिक रूपमा मनाइने छठले सामाजिक एकता, आपसी सद्भाव र सहकार्यको सन्देशसमेत दिँदै आएको छ।