अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

रासस

सारांश
- अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा शनिबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
- अवोका सहरमा भएको पहिलो दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
- क्वीन्सल्यान्ड सीमा नजिक भएको दोस्रो दुर्घटनामा २० वर्ष आसपासका दुई युवाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन्।

मेलवर्न । अस्ट्रेलियाको पूर्वी राज्य न्यु साउथ वेल्समा शनिबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
न्यु साउथ वेल्स प्रहरीले दिएको जानकारीअनुसार पहिलो दुर्घटना स्थानीय समयअनुसार साँझ करिब ७ बजे सिड्नीबाट १०० किलोमिटर दक्षिणपश्चिममा पर्ने अवोका सहरमा भएको थियो । दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एउटा गाडीमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाइएको छैन ।
यसैबीच, सोही राज्यको उत्तरी क्षेत्रमा राति साढे १० बजे अर्को दुर्घटना भएको थियो । क्वीन्सल्यान्ड राज्यको सीमाक्षेत्र नजिकै एउटा गाडी सडकबाट बाहिरिएर रुखमा ठोक्किएको थियो ।
उक्त गाडीमा सवार दुई जना २० वर्ष आसपासका व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि प्रहरी घटनास्थल पुगे पनि एम्बुलेन्स टोली आइपुग्नुअघि नै दुवैको मृत्यु भएको थियो ।
गाडीमा सवार तेस्रो व्यक्ति पनि २० वर्ष आसपासका रहेको र गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि क्वीन्सल्यान्डको अस्पताल लगिएको छ । उनको अवस्था गम्भीर भए पनि स्थिर रहेको बताइएको छ ।
प्रहरीले दुवै दुर्घटनास्थललाई सुरक्षित गरी घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारणबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड

‘छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ’

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला
अरुपनि पढ्नुहोस
सबै
तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित

















