काठमाडौँमा जोशीको बयान सकियो, अब लामिछानेको पालो


काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) छविलाल जोशीसँग काठमाडौँ ल्याएर बिहीबार बयान लिइएको छ ।
यही मङ्सिर ४ गते कास्कीबाट काठमाडौँ ल्याइएका जोशीसँग दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए।
जोशीसँग बयान लिने कार्य सकिएको उनले बताए। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयान लिन ल्याइएको हो ।
जोशीसँगै उक्त सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
अब लामिछानेलाई पनि बयानका लागि ल्याइने जनाइएको छ । सोही प्रकरणमा अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा पठाइसकिएको छ ।
यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही लगेर लामिछाने र जोशीलाई बयान लिइसकिएको छ ।
गत आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त सहकारीको रकम अपचलनमा छ सयभन्दा बढी पीडितले जाहेरी दिएका छन् ।






















