मिथिलामा ‘लबान’ को लहर

रासस

सारांश
- मधेसको मिथिला क्षेत्रमा नयाँ अन्न घरमा प्रयोग गर्न र यज्ञयज्ञादि शुभकार्यका लागि पवित्र बनाउने उद्देश्यले ‘लबान’ पर्व सुरु भएको छ।
- यस पर्वमा नयाँ धानको चिउरा, दूध र सख्खर हवन गरी भगवान विष्णुलाई अर्पित गरेपछि प्रसाद ग्रहण गर्ने तथा नयाँ अन्नको सिधा दान दिने चलन छ।
- पहाडी समुदायमा मनाइने ‘न्वागी खाने’ परम्परासँग मिल्दोजुल्दो यस पर्वको विधि पूरा गरेपछि मात्र वर्षभरि नयाँ अन्न खानपिन र अन्य शुभकार्यमा प्रयोग गर्न मिल्ने धार्मिक मान्यता छ।

महोत्तरी । चन्द्रमासको कार्तिक शुक्ल द्वादशी तिथिसँगै मधेसको मिथिला क्षेत्रमा ‘लबान’ पर्व सुरु भएको छ । नयाँ अन्न घरमा प्रयोग र यज्ञयज्ञादि शुभकार्यमा पवित्र बनाइने विधिका रुपमा यो पर्व मिथिलाका घरघरै मनाउने चलन छ । नयाँ धानबाली दाइँ गरेपछि मनाइने यो पर्व हरिबोधिनी एकदशी व्रतको साङ्गतासँगै मिथिलामा ‘लबान’का रुपमा मनाउने गरिएको छ ।
सामान्यतया नयाँ धान थन्क्याएपछि मङ्सिरभरि अनुकूलताअनुसार मनाउने गरिएकामा पछिल्ला केही दशकयता भने मङ्सिरमा पाक्ने रैथाने जातका धान लगाउन छाडिएपछि हरिबोधनीको व्रत साङ्गतासँगै जोडेर यो पर्व मनाउन थालिएको हो । पछिल्ला वर्षमा कात्तिकमै पाक्ने उन्नत जातका धान लगाउने प्रचलन बढ्दै गएको छ ।
“होम र यज्ञका लागि कार्तिक शुक्ल द्वादशी सर्वोत्तम तिथि मानिन्छ, अचेल नयाँ जातका धान यसबेलाअघि नै तयार गरीसकिएको हुन्छ”, भङ्गाहा–५ सिद्धपुरका बासिन्दा मैथिली लोकपरम्पराका जानकार ६५ वर्षीय रामनारायण झा भन्छन्, “त्यसैले धेरैजसोले यसै दिन ‘लबान’ को होमयज्ञ आयोजना गर्न लागेका हुन् ।”
झाका अनुसार, संस्कृतमा ‘नवान्न’ (नयाँ अन्न) को होम गरेर प्रयोगमा ल्याइने पुरानो वैदिक परम्परा नै पछि मैथिली बोलीचालीमा ‘लबान’ भएको हो । अन्नबालीमा धान मुख्य मानिने पहिलेदेखिकै मान्यताले यावत् अन्नलाई संस्कृतमा एकमुष्ट भनिदा ‘धान्यादि’ भनिएको पाइन्छ ।
यसै मान्यताले धानको विधिपूर्वक होमयज्ञ गरेपछि वर्षभरिका सबै अन्न घर प्रयोग र विभिन्न यज्ञयज्ञादि शुभकार्यमा चलाइन सकिने धार्मिक मान्यताले यो पर्व परम्परा सुरु भएको मैथिल क्षेत्रका पाकाहरु बताउँछन् । “धान होम गरेपछि वर्षभरि सबै अन्नको प्रयोग खुल्छ”, एकडाराको भटौलियाका बासिन्दा संस्कृतिविद् ७० वर्षीय विजयलाल कर्ण भन्छन् ।
यस पर्वमा नयाँ धान कुटेर परिवारका सबै सदस्यले चिउरा, दूध र गुँड (सख्खर) पवित्र यज्ञको अग्नीमा होम गरी भगवान विष्णुलाई अर्पित गरेपछि शेषान्न (उब्रेको) प्रसादस्वरुप खाने चलन छ । त्यो विधिसँगै पुरोहितलाई भोजन गराएर दक्षिणासहित नयाँ अन्नको सिधा दान गरिँदै आएको छ ।
उक्त विधिपछि सबै अन्न वर्षभरि चलन गर्न सकिने मान्यता छ । उक्त विधिमा ग्रामदेवताको पूजा गरिने चलनसमेत छ । ‘लबान’ यज्ञका लागि बनेका सबै परिकार देवतालाई चढाएपछि नयाँ अन्नको प्रयोग खुल्ने मैथिल परम्परा रहेको कर्णले स्पष्ट पारे ।
उक्त विधिलाई पहाडी परम्पराका ‘न्वागी खाने’ भन्ने परम्परा छ । महोत्तरी जिल्लाको सुदुर उत्तरी क्षेत्रमा घरघरैजसो नवान्न अर्थात् (हिउँदे धान) को ‘न्वागी’ खाने विधि पनि धेरैजसोले आजै सम्पन्न गरेका छन् । मैथिल परम्परामा चिउरा मुख्य भोग लगाइने चलनजस्तै पहाडी परम्परामा भने नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा छ । यो परिकारलाई बोलीचालीमा ‘भिजाएका चामल’ पनि भनिन्छ ।
यस पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोच्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपिनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू परम्पराका पर्वते समुदायको चलन छ ।
संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको मैथिल विश्वासजस्तै पाहाडी चलनमा पनि धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न वर्षभरि खानपिनमा प्रयोग गर्न सकिने मान्यता छ ।
वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनअघि होमादी नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो मान्यता छ । सामान्यतया मैथिल परम्पराको ‘लबान’ वा पहाडी चलनको ‘न्वागी खाने’ कार्तिक शुक्ल द्वादशी प्रमुख रुपमा रहेपनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादी गर्न सकिने परम्परा रहेको कर्मकाण्डका ज्ञाता बर्दिबास–१ का बासिन्दा पण्डित भागवत् काफ्ले बताउँछन् ।

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

विजयनगरमा माता सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास
अरुपनि पढ्नुहोस
सबै
नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन

आगन्तुकको टोपी खाएपछि विश्वभर चर्चित हिप्पो फियोनाको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु, प्रहरी हबलदारसहित चारजना घाइते

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
















