राउटे सहजै स्विकार्छन् ‘मृत्यु’, देशभर राउटेको संख्या १३४

पत्रपत्रिकाबाट


सुर्खेत, असोज ५ । दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो । सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु भएको हो ।
बेलैमा उपचार गर्न नमानेपछि शाहीको स्वास्थ्य गम्भीर भएपछि मात्रै अस्पताल ल्याइएको थियो । चेकजाँचका क्रममा क्षयरोग लागेको देखिएको थियो । क्यान्सरको आशङ्का गरी थप उपचार गर्न चिकित्सकको सल्लाह नमानेपछि शाहीलाई बस्ती ल्याउँदै गर्दा ज्यान गुमेको हो ।
गत वर्ष मात्रै आठ जना राउटेको मृत्यु भयो । २०८० जेठ २३ गते कर्णबहादुर शाही, असोज ८ गते तुलसी शाही र सिस्नेरी शाही, कात्तिक १९ गते महिनबहादुर शाही, मङ्सिर २७ गते सिमल शाही, पुस ९ गते भद्रबहादुर शाही, माघ २७ गते बालकुमारी शाही र माघ २८ गते भैरव शाहीको मृत्यु भएको राउटे समुदायमा काम गर्दै आएको दैलेखको सोसेक संस्थाको राउटे परियोजनाले जनाएको छ ।
परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले २०७५ सालयता मात्रै ४३ जना राउटेको मृत्यु भएको बताए । धेरै जसो राउटे बस्ने गरेको दैलेखको गुराँस गाउँपालिकामा २०७५ असारदेखि राउटे परियोजना लागु गरिएपछि राख्न थालिएको तथ्याङ्क अनुसार हालसम्ममा ४३ जनाको मृत्यु भएको हो ।
औषधी र खोप लगाउँदैनन्
छ वर्षको अवधिमा मृत्यु भएका ४३ जना राउटेमा धेरै जसो पुरुष छन् । त्यसमा पनि धेरैले अकालमै ज्यान गुमाएका छन् । कोही बिरामले, कोही सिकार खेल्ने क्रममा र कोही अधिक रक्सी पिएर राउटेको मृत्यु भएको पाइन्छ । त्यसै गरी पोषिलो खानेकुराको अभावले राउटे समुदायका बालबालिकाको मृत्यु हुने गरेको जोडी शिक्षक खत्रीले बताए । बिरामी भए उपचारका लागि उनीहरूलाई अस्पताल लान पनि निकै कठिन हुन्छ । उनले बरु मृत्यु सहजै स्विकार्ने राउटेलाई उपचार गर्न मनाउन साह्रै कठिन हुने गरेको जनाए ।
शोकपछि बसाइँ सराइ
२०७५ यता राउटे ९४ ठाउँमा बसाइँ सरेका छन् । राउटे समुदायका कुनै सदस्यको मृत्यु भएमा उनीहरू तत्कालै बसाइँ सर्छन् । जोडी शिक्षक खत्रीले छ वर्षको अवधिमा राउटे ९४ ठाउँमा बसाइँ सरेको जानकारी दिए ।
राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका छन् । राउटेहरू धेरै जसो सुर्खेत, दैलेख, अछाम, जाजरकोट, दाङका जङ्गलहरूमा घुम्दै बस्ने गर्छन् । परिवारका कुनै सदस्यको मृत्यु हुनुका साथै पानी र बस्तीनजिक भएको ठाउँसमेत उनीहरूको रोजाइ बन्छ ।
राउटेहरू जति ठाउँमा बसाइँ सर्छन्, आफूहरू पनि उनीहरूसँग जानुपर्ने जोडी शिक्षक खत्रीले बताए । उनले आफूहरू राउटे बस्तीनजिकको गाउँमा भाडामा बस्ने गरेको बताए ।
परियोजनामा चार जना कर्मचारी छन् । उहाँले दुई जना स्वास्थ्यकर्मीसहित आफूहरू दुई जना शिक्षक रहेको बताए । अहिले राउटेको सङ्ख्या १३४ मा झरेको छ । वृषबहादुर शाहीको मृत्यु भएपछि राउटेको सङ्ख्या १३४ मा झरेको हो । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















