Opens in a new tab

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

नवलपुर टुडे

325Shares

सारांश

  • होस्टल व्यवसायी संघ, भक्तपुरले देउसी–भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने निर्णय गरेको छ।
  • संघका केन्द्रीय अध्यक्ष किरण शर्माले होस्टल व्यवसायीहरूको हकहित, सुरक्षा र राज्यसँगको समन्वयका लागि संस्था सधैं कटिबद्ध रहेको बताएका छन्।
  • कार्यक्रममा विभिन्न तहका पदाधिकारी र व्यवसायीहरूको उपस्थिति रहनुका साथै सांस्कृतिक प्रस्तुतिसहित आपसी एकता र सद्भाव प्रगाढ बनाइएको छ।
dida bag ad

काठमाडौं , कार्तिक २१ ।  होस्टल व्यवसायी संघ, नेपालले देउसी–भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने भएको छ । होस्टल व्यवसायी संघ नेपाल, भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष गणेश श्रेष्ठका अनुसार देउसी–भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने भएको हो ।

होस्टल व्यवसायी संघ नेपाल, भक्तपुर जिल्ला कार्यसमितिले देउसी–भैलो कार्यक्रम संचालन गरेको छ । संस्थाको कार्यालय सञ्चालनका साथै विभिन्न मानवीय सहयोग र सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिने उद्देश्यले आयोजित देउसी–भैलोबाट संकलन रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गरिने छ।

होस्टल व्यवसायी संघ नेपाल, भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष गणेश श्रेष्ठले संकलित रकमबाट आगामी दिनमा विभिन्न परोपकारी, समाजसेवी तथा मानवीय सहयोगका कार्यहरू सञ्चालन गरिने बताउनुभयो । उहाँले संस्थागत हित र भक्तपुर जिल्ला कार्यसमितिको कार्यालय सञ्चालनसँगै संकलित रकमलाई समाजसेवामा समर्पित गर्ने लक्ष्य राखिएको स्पष्ट पार्नुभयो ।

संघका केन्द्रीय अध्यक्ष किरण शर्माले होस्टल व्यवसायीहरूको हकहित, एकता र व्यवसायको सुरक्षाका लागि संघ सधैं कटिबद्ध रहेको बताउनुभयो । देउसी–भैलोजस्ता सांस्कृतिक पर्वमार्फत संस्थागत हित बढाउनुका साथै व्यवसायीहरूबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

शर्माले स्पष्ट शब्दमा भन्नुभयो, होस्टल व्यवसायीको व्यक्तिगत समस्या मात्र होइन, राष्ट्र स्तरबाटै यस पेशाको हकहित र पहिचानका लागि संघ निरन्तर लडिरहेको छ। उहाँले दर्ता, नवीकरण, कर, घरभाडा लगायत समस्याहरूमा सम्बन्धित सरकारी निकायसँग निरन्तर संवाद र खबरदारी भइरहेको उल्लेख गर्नुभयो। भर्खरैको ग्यास अभावजस्तो असहज अवस्थामा पनि व्यवसायीहरूको चुलो निभ्न नदिन तत्काल पहल गरी ग्यास आपूर्ति समन्वय गरिएको पनि उहाँले बताउनुभयो। संघ कुनै आश्वासन दिने संस्था मात्र नभई, समस्या पर्दा साथमै उभिने साझा अभिभावक भएको प्रष्ट पार्दै, राज्यसँग यस व्यवसायलाई सम्मानित रूपमा चिनाउने, व्यवसायीलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, होस्टल व्यवसायीहरू केवल व्यवसायी मात्र होइनन्, हजारौँ विद्यार्थीको बसोबास, सुरक्षा र भविष्यसँग जोडिएका जिम्मेवार सेवाप्रदायक हुन्, त्यसैले राज्यले पनि उचित सम्मान र पहिचान दिनुपर्छ।

त्यस्तै, संघका पूर्व केन्द्रीय अध्यक्ष सुनिल भेटवालले संस्थाको स्थापनाकालदेखिको संघर्ष र वर्तमान उपलब्धिको चर्चा गर्दै व्यवसायीहरू व्यावसायिक रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व र संस्थागत हितप्रति उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

देशभर करिब ८७५ जना व्यवसायी आबद्ध रहेको संघको यस कार्यक्रममा देशका विभिन्न जिल्लाबाट होस्टल व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष चेतन दाहाल, पूर्व अध्यक्ष रेवतीकुमार खड्कालगायत संघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

केन्द्रीय महासचिव देवराज कँडेलले संघको समग्र गतिविधि, संस्थागत उद्देश्य र व्यवसायीहरूको हकहितका विषयमा प्रकाश पार्नुभयो । उहाँले देउसी–भैलो जस्ता कार्यक्रमले व्यवसायीहरूबीच आपसी एकता, सहकार्य र सद्भाव कायम राख्दै संस्थालाई थप सशक्त र चलायमान बनाउने स्पष्ट पार्नुभयो।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उल्लासमय बनाउन चर्चित गायक कृष्ण बम मल्लले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भक्तपुर जिल्ला कार्यसमितिकी सचिव मीना महतले गर्नुभएको थियो ।

होस्टल व्यवसायी संघले यसभन्दा अघि पनि विपद् व्यवस्थापन, राहत वितरण तथा विभिन्न सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यसपटक देउसी–भैलोमार्फत संकलित रकमलाई पनि समाजका उपयोगी र परोपकारी कार्यमा लगाउने प्रतिबद्धता संघले जनाएको छ ।

अरुपनि पढ्नुहोस

सबै