वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

एजेन्सी

सारांश
- भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा वायु प्रदूषण अत्यधिक बढेपछि सरकारले ‘जीआरएपी’ को तेस्रो चरणका कडा उपायहरू लागू गरेको छ।
- प्रदूषण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सबै निर्माण तथा भत्काउने कार्यहरूमा प्रतिबन्ध लगाइनुका साथै तोकिएका मापदण्डभन्दा बाहिरका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
- स्वास्थ्य विज्ञहरूले वायु प्रदूषणको जोखिमबाट बच्न सर्वसाधारणलाई विशेषगरी बिहान र बेलुका घर बाहिर ननिस्कन तथा शारीरिक श्रमका कामहरू नगर्न सुझाव दिएका छन्।

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लामा प्रदूषण नियन्त्रणका कडा उपाय लागू गरेको छ । वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ (जीआरएपी) को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सीएक्यूएम) द्वारा जारी विज्ञप्तिअनुसार, प्रतिकूल मौसमी अवस्थाका कारण प्रदूषक तत्वहरू वायुमण्डलमा फैलिन नसक्दा नोभेम्बर ६ मा दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३८२ पुगेको थियो । यो स्तर अत्यन्त खराब श्रेणीमा पर्छ ।
आयोगले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा तत्काल लागू हुने गरी जीआरएपीको तेस्रो चरण कार्यान्वयनमा ल्याएको जनाएको छ । साथै, सम्बन्धित क्षेत्रका प्रदूषण नियन्त्रण निकायलाई यी उपाय कडाइका साथ पालना गराउन निर्देशन दिएको छ ।
तेस्रो चरणअन्तर्गत अत्यावश्यकबाहेकका सबै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ । यसमा उत्खनन्, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, पाइलिङ, इँटा लगाउने, चिनाइ, सडक निर्माण तथा ठूला मर्मतसम्भारका काम समावेश छन् ।
त्यसैगरी, दिल्ली र आसपासका राष्ट्रिय राजधानी क्षेत्रका जिल्लामा बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बीएस अर्थात् भारत स्टेज सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि सरकारले निर्धारण गरेको उत्सर्जन मापदण्ड हो ।
स्वास्थ्य विज्ञहरूले स्थानीय बासिन्दालाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर निस्केर गरिने गतिविधि नगर्न तथा लामो समयसम्म वा बढी शारीरिक श्रम गर्नुपर्ने कामबाट जोगिन सुझाव दिएका छन् । श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई घरबाहिरका सबै प्रकारका शारीरिक गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ ।
दिल्ली विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरमध्ये एक हो । औद्योगिक गतिविधि, सवारीसाधनको चाप र व्यापक निर्माण कार्य यहाँको वायु प्रदूषणका प्रमुख कारण हुन् । विगतका वर्षहरूमा पनि जाडो मौसम सुरु हुनुअघि दिल्लीको वायु गुणस्तर अत्यन्त खराब अवस्थामा पुग्ने गरेको छ ।

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
अरुपनि पढ्नुहोस
सबै
जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा
















