‘वरिष्ठ पत्रकार पाण्डे हाम्रो अभिभावक थिए। उनका परिवारका सदस्यका अनुसार उनी मस्तिष्कघातका कारणले शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ थिए। उनको निधनले पत्रकारिता जगत्ले एउटा हस्ती नै गुमाउन पुगेका छौँ’, उनले भने, ‘उहाँको निधनले पत्रकारिता क्षेत्रलाई अपुरणीय क्षति भएको छ।’
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका पूर्वअध्यक्ष शत्रुघन नेपालले वरिष्ठ पत्रकार पाण्डे गत भदौ १३ गते बाराको डुमारानास्थित घरमा बिरामी भएर थप उपचारका लागि काठमाडौं गएका बताए। ‘गत भदौ १३ गते बाराको डुमारानामा बिरामी हुनुभयो। उहाँलाई उपचार गर्नका लागि एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याउँदासम्म होसमा हुनुहुन्थ्यो। त्यो बेलासम्म कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्थ्यो’, उनले भने, ‘नारायणी अस्पतालले थप उपचारका लागि भनेर सोही दिन नै काठमाडौंमा रेफर गरेको थियो।’
पूर्वअध्यक्ष नेपालका अनुसार वरिष्ठ पत्रकार पाण्डेलाई भदौ १४ गते शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा राखिए पनि भदौ १५ गते भने उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। पुख्र्यौली घर धादिङ भए पनि उनले पर्सालाई कर्मभूमि बनाएर पत्रकारिता गर्दै आएका थिए। पाण्डे यसअघि नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको पूर्वसचिवसमेत थिए। पूर्वअध्यक्ष नेपालले वरिष्ठ पत्रकार पाण्डेको निधनले एक कुशल अभिभावक गुमाउनुपरेको प्रतिक्रिया दिए।
‘वरिष्ठ पत्रकार पाण्डेले सञ्चालन गर्नुभएको उत्थान साप्ताहिक पत्रिकामा २०४१ सालमा मैले सहसम्पादकका रूपमा काम गरेको थिएँ। उहाँले हामीजस्ता धेरैजनालाई पत्रकारिता पनि सिकाउनुभयो’, उहाँले विगतलाई स्मरण गर्दै भने, ‘उहाँको निधनले एउटा सच्चा अभिभावक गुमाएको महसुस गरेको छु।’ स्वर्गीय पत्रकार पाण्डेका एक छोरा र एक छोरी छन्। उनकी श्रीमती र एक छोराको यसअघि नै निधन भइसकेको छ।

























