थारु समुदायको अट्वारी पर्वमा लुम्बिनीका ६ जिल्लामा बिदा


बुटवल । पश्चिम नेपालका थारु समुदायको अट्वारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। पश्चिम नेपालको लुम्बिनी प्रदेशमा बसोबास गर्ने थारु समुदायले यो पर्व धुमधामसँग मनाउने गर्दछन्। यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ।
हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ। दुई दिन सम्म मनाईने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ।
एकथरी विश्वास अनुसार, द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ।
अर्कोथरी मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ। दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ।























