तीज पर्वको मौलिकता हराउँदै


बाजुरा, भदौ २१ । भदौ महिना लाग्नुभन्दा केही दिन पहिले देखिनै सुरु भएको नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको रौनक अहिले उत्कर्षमा पुगेको छ । आज त हरितालिका तीजको मुख्य दिन पनि हो । हरेक वर्ष भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन पवित्र भई व्रत बसी मुख्यतः भगवान् शिवको पूजा आराधना गर्ने धार्मिक मान्यता रहेको छ । तीजमा विवाहित महिला आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै यस दिन पानीसमेत नखाई व्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने विश्वासमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको छ । नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रूपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको स्वयं महिलाले नै गुनासो गर्ने गरेका छन् ।
नेपाली नारीको महान् चाड हरितालिका तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । बदलिँदो समय र परिवेशसँगै तीज मनाउने शैली र यसको रौनकता पनि फेरिँदै गएको छ । हरितालिका तीजको समयमा सहरका हरेक ठाउँ ठाउँमा तीजका नाचगानका कार्यक्रमहरु जताततै देख्न पाइन्छ भने ग्रामीण क्षेत्रमा समेत त्यसको प्रभाव पर्न थालेको छ । तर पहिले भन्दा अहिलेको तीजमा तामझाम बढ्दो छ भने मौलिकता र संस्कृति बिस्तारै घटदै गएको छ। दिनप्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन नहुँदा नयाँ पुस्ताका महिला पनि चिन्तित छन् । आजभोलिका गीतमा हाँसो, ठट्यौली र रत्यौली खेले जस्तो लाग्दछ । विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघर तिर पनि बिस्तारै हराउँदै गइरहेको छ । तर अहिले गीतसङ्गीतमा मात्रै होइन, खानपिनमा समेत पछिल्लो समयमा निक्कै परिवर्तन आइसकेको छ । जुन सकारात्मक परिवर्तन भन्दा बढी नकारात्मक परिवर्तनले झाँगिएको पाइन्छ ।
पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरुमा तीज पर्व मनाउने होडबाजी चलेको छ । गरगहना, महङ्गो मुल्यका लत्ताकपडा, खानपानमा तडकभडक बढी देखिन थालेको छ ।तीज आउनु महिना दिन अगावै गरगहना, महङ्गा मुल्यका कपडामा सजिएर होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसमा दरखाने लामबद्ध हुन थालेपछि मौलिकता छाडेर आधुनिकताको पछि लागेको छ। सूचना प्रविधिको विकाससँगै बजारका चोक, खुल्ला चउरमा भेला भएर गाउने गीत, स्टुडियो र युट्युब, टिकटक, फेसुबकमा सिमित बन्न पुगेका छन् । पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकासले घरमै टिभी हेर्ने, रेडियोमा गीत सुन्ने मोबाइल, युट्युबले गर्दा बजारमा तीजका गित गाउन र नाच्न जाने भेटिँदैनन् । तीज गीत प्रतियोगितात्मक कार्यक्रम राखिएका बजारमा जसोतसो दर्शक पुगेका हुन्छन् । तीजलाई नारी अधिकार र स्वतन्त्रताका रुपमा लिइने गरिन्छ । पर्व मनाउने क्रममा समयअनुसार केही परिवर्तन हुँदै गएको छ ।























