राजनीति

माओवादी केन्द्र र नेसपाबीच एकताको लागि पार्टीको नाममा सहमति जुट्न सकेन

नवलपुर टुडे
२०७९ माघ ११ | मध्यान्ह ०५:१० बजे

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बीचको एकता पार्टीको नाम के हुने भन्ने विषयमा अड्किएको छ । आज माओवादी केन्द्रका वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीका वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठबीच दुई पटक छलफलमा बस्दापनि अन्तिममा पार्टीको नामलाई लिएर सहमती हुन सकेन ।

नेसपा वार्ता टोलीका संयोजक श्रेष्ठले नेकपा नराखेर समाजवादी पार्टी बनाउनु पर्ने अडान राखेका थिए । माओवादी केन्द्रका वार्ता टोली संयोजक महरासहितको टोली पार्टीको नाम नयाँ राखेपनि नेकपा छुटाउन नहुने पक्षमा पुगेका छन् । पार्टीकै नाममा सहमती नजुटेपछि बार्ता टोलीले आ-आफ्नो धारणा राखेका थिए ।

‘माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा कुनै शंका छैन । कुनै कन्फ्यिूजन पनि छैन’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘हामी पार्टीको नाम समाजवादी राखे पनि नेकपा राख्नु पर्छ भन्ने पक्षमा छौं । उहाँहरु (नेसपा) नेकपा राख्न हुन्न भन्ने पक्षमा हुनुहुन्छ । कुरा त्यसमा मिलिराखेको छैन ।’

पार्टी एकताका विषयमा वार्ता टोलीबाट कुरा नमिल्ने देखिएपछि शिर्ष नेताहरु बसेर टुंगो लगाइनेसमेत वार्ता टोलीका सदस्यले बताए । अब माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराईलाई पार्टी एकताका विषयमा छलफल गरेर नाम टुंगो लगाउने जिम्मा दिएको छ ।

पार्टीको चुनाव चिन्हका विषयमा भने कुनै समस्या नहुने वार्ता टोलीका नेताहरूले बताएका छन् ।

कमेन्टहरु