सभामुखमा एमालेका घिमिरे निर्वाचित

नवलपुर टुडे
२०७९ माघ ५ | मध्यान्ह ०३:१० बजे

काठमाडौं, माघ ५ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा घिमिरे निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । त्यसैगरी विपक्षी उम्मेदवारलाई सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए ।
घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।






















