राजनीति

नयाँ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

नवलपुर टुडे
२०७९ माघ ३ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ ३ । नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट ४, माओवादी केन्द्रबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ सांसद सरकारमा सहभागी भएका छन् । माओवादी, रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पाएका छन् ।

राप्रपाबाट राजेन्द्र लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री, ध्रुबबहादुर प्रधान कानून मन्त्री, बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन् ।

नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन् ।

नेकपा एमालेबाट हरि उप्रेती रक्षामन्त्री, विमला राई पौडेल परराष्ट्र मन्त्री, पदम गिरी स्वास्थ्य मन्त्री, भगवती चौधरी महिला बालबालिका मन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री र दामोदर भण्डारी उद्योग मन्त्री भएका छन् ।

यसअघि पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधान एवं भौतिक योजना मन्त्री बनाएका थिए । यस्तै एमालेका विष्णुप्रसाद पौडेललाई उपप्रधान एवं अर्थमन्त्री र रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाइएको थियो ।

कमेन्टहरु