राजनीति

माओवादीबाट रेखा शर्मा, सुदन किराती र अमनलाल मोदी मन्त्री बन्ने

नवलपुर टुडे
२०७९ माघ ३ | बिहान ११:१० बजे
फाइल तस्बिर

काठमाडौं, माघ ३ । नेकपा माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ । माओवादीले सांसद रेखा शर्मालाई सञ्चारमन्त्री, सुदन किरातीलाई संस्कृति पर्यटन मन्त्री र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ ।

मत मंसिर ४ गतेको निर्वाचनमा शर्माले दाङ क्षेत्र नम्बर २ बाट चुनाव जितेकी हुन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराएकी थिइन् । यसअघि उनी दुई पटक समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् । माओवादीले जनयुद्ध गर्दा सक्रिय रूपमा सहभागी भएकी शर्मा माओवादीको प्रमुख सचेतकसमेत भइसकेकी छिन् ।

यस्तै पर्यटन मन्त्री बन्न लागेका किराती भोजपुरबाट चुनाव जितेका हुन् । उनले प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई हराएका हुन् । किरातीले भोजपुरबाट तेस्रो पटक सांसद जितेको हो । किराती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए । 

संघीय मामिला मन्त्री बन्न लागेका मोदी मोरङ ५ बाट चुनाव जितेका हुन् । उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७० सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए । माओवादी जनयुद्धकै समयमा उनी माओवादी मोरङको विद्यार्थी संगठन अध्यक्षसमेत थिए । 

यसअघि माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री भइसकेका छन् ।

कमेन्टहरु