राजनीति

आज प्रतिनिधि सभाको बैठक बस्दै, भोलि १२ दलका शीर्ष नेताले सम्बोधन गर्ने

नवलपुर टुडे
२०७९ पुस २५ | बिहान १०:०९ बजे

काठमाडौं, पुस २५ । संघीय संसद्को अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक बस्न लागेको हो। बैठकमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ । प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको तेह्रो अधिवेशनमा संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। 

प्रतिनिधिसभाको भोलिको बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिने संसद सचिवालयले जनाएको छ। बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यहरुलाई स्वागत गर्नेछन्। 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले) का ७९ (स्वतन्त्रसमेत), नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक तथा स्वतन्त्र चार सांसद् छन्। 

कमेन्टहरु