सरकारमा जाने वा नजानेबारे टुंगो लगाउन नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

नवलपुर टुडे
२०७९ पुस १८ | बिहान ०९:०९ बजे

काठमाडौं, पुस १८ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज (सोमबार) बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
शनिबार र आइतबार दुई दिन स्थायी कमिटी बैठक बसेको भए पनि आगामी रणनीति बनाउन नसकेपछि पोलिटब्यूरो बैठक बोलाइएको खतिवडाले बताए । उनका अनुसार आजको बैठकले अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे टुंगो लगाउने छ ।
‘अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन’, उनले भने, ‘सरकारमा जाने वा नजाने भन्ने विषय पनि पोलिटब्यूरो बैठकले टुंगो लगाउनेछ ।’






















