राजनीति

सत्ता गठबन्धनको बैठक सकियो : सत्ता साझेदार दलको संयोजकमा ओली

नवलपुर टुडे
२०७९ पुस १४ | बिहान ११:०९ बजे

काठमाडौं, पुस १४ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकले सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ ।

आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोकिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताए । ‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ । यसका लागि हामीले संयोजक तोकेका हौँ,’ उनले भने, ‘सरकारमा रहेका दलहरूबाट एक/एक जना सदस्य पनि पठाउने तयारी छ ।’

आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रवि लामिछाने सहभागी थिए । लामिछानेका अनुसार पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी छ । न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने गृहमन्त्री लामिछानेले बताए ।

कमेन्टहरु