राजनीति

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

नवलपुर टुडे
२०७९ पुस ११ | मध्यान्ह ०२:०९ बजे

काठमाडौ, पुस ११ । नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी नहुने भएको छ । डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने निर्णय गरेको पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । उनका अनुसार सरकारमा सहभागी हुन पार्टीले तीन सर्त अघि सारेको छ ।

पहिलो सर्तमा रेशम चौधरीलगायतको रिहाइ हुनुपर्ने, दोस्रो सर्तमा टीकापुर घटनापछि गिरिशचन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र तेस्रो झूटा मुद्दाहरू खारेज गर्नुपर्ने माग रहेको छ ।

आइतबार बालकोट पुगेकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले पनि त्यहाँ पार्टीको तीन बुँदे माग राखेकी थिइन् । उनले राजनीतिक माग पुरा नभएसम्म पार्टी सरकारमा सहभागी नहुने पनि बताइन् । 

कमेन्टहरु