राष्ट्रिय मदरसा संघले गर्यो सांसद फारुकीलाई सम्मान


कपिलवस्तु, पुस ११ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको लाइब्रेरीमा आइतबार एक कार्यक्रमका बिच राष्ट्रिय मदरसा संघ नेपालले नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक मुस्लिम तर्फबाट निर्वाचित कृष्णनगरका सिराज अहमद फारुकी लाई सम्मान गरेको छ ।
सांसद फारुकी लामो समयदेखि नेकपा एमाले पार्टी प्रति समर्पित रही पार्टी र नेपाली जनताको हितमा काम गर्दै आएका थिए । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले प्रतिनिधि सभा सदस्यमा छनौट भएकोमा फारूकीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै मुस्लिम समुदाय तथा नेपाली जनताको हक हितमा सधै काम गर्न अनुरोध गरे ।
सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फारुकीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामनासहित उर्दू भाषामा सांसदको सपथ ग्रहण गरेको प्रशंसनीय रहेको, सांसद फारुकीलाई मदरसाको व्यवस्थापन सामुदायिक विद्यालय सरह बनाउनुपर्ने तथा मुस्लिम समुदायको हक हितको आवाज सांसद भवनबाट उठाउन समेत अपिल गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य फारुकीले सम्मान गरेको प्रति उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै पार्टीले आफूलाई जिम्मेवारी दिएको प्रति आफूले पूर्ण रूपमा पार्टी तथा नेपाली जनताप्रति समर्पित रहँदै मुस्लिम तर्फबाट आएकाले समेत पार्टी र सदनमा मुस्लिम समुदाय तथा मदरसाको हक हितमा सधै आवाज उठाउदै पिछडिएको समुदायको रूपमा रहेको मुस्लिम समुदायलाई अगाडि ल्याउन हरेक सम्भव प्रयास गरिने बताउँदै नयाँ बन्ने सरकारले देशको विकास गर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, तोफेल अहमद खान, निसार अहमद फारुकी, अवसाफ मिर्जा, किफायतुल्ला खान, जुम्मन खान, डा. शहाबुद्दीन मदनी, शैख अब्दुल रशीद मदनी, अब्दुल नूर, अकरम आलयाबी, शैख असलम मदनी, अब्दुल हसीब, तारिक रियाज, असरफ खान, बसरार सइद, वलीद अब्दुल रहमान लगायत अन्यको उपस्थित रहेको थियो ।






















