१६७ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेस


काठमाडौं, पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रचण्डले ७ दलका १६६ र एक स्वतन्त्र गरी १६७ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य केही नेताहरुसहित प्रचण्ड शीतल निवास पुगेका हुन् । प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६७ सांसदले समर्थन गरेका छन् । सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ ।
प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लागेका हुन् ।






















