रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन


काठमाडौं पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन परेको छ । लामिछानेको नागरिकता सम्बन्धी विवाद निरुपण भइनसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन परेको हो ।
समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन दिएका हुन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निवेदक सफलले रवि लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप्ति नगरी पुरानै नागरिकता पेस गरी उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगमा नवराज पाण्डे लगायतले उजुरी दर्ता गरेकोमा आयोगले सो उपर कुनै छानबिन नगरी निर्वाचन लड्न दिएको जिकिर गरेका छन् ।
गृह मन्त्रालयमा रवि लामिछानेले पुरानो नागरिकता पुनर्प्राप्ति नगरी प्रयोग गरेको, अमेरिकी नागरिक कायम भएकै बखत झुटो विवरण पेस गरी नेपाली राहदानी लिएको लगायत विषय समेटी उजुरी दर्ता गरी नेपाल प्रहरीले फौजदारी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको अवस्था रहेको पनि उनले निवेदनमा उल्लेख गरेका छन् ।























