राजनीति

देउवाको नजर अब सरकार गठन र शक्ति बाँडफाँडतिर केन्द्रित

नवलपुर टुडे
२०७९ पुस ७ | बिहान ०७:०९ बजे

काठमाडौ । पार्टीको संसदीय दलको नेतामा चयन भएलगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भावी सरकार गठनसहितको शक्ति बाँडफाँडमा ध्यान केन्द्रित गरेका छन् ।

देउवा निर्वाचित भएसँगै शक्ति बाँडफाँडबारे सत्तागठबन्धनमा अनौपचारिक छलफलसमेत सुरु भएको छ । अहिलेकै गठबन्धन बचाउने गरी प्याकेजमै शक्ति बाँडफाँड गर्ने उनीहरूको पहिलो प्राथमिकता छ । देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनी, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच शक्ति बाँडफाँडका विषयमा बुधबार अनौपचारिक छलफल भएको छ । नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा र प्रचण्ड बुधबार दिउँसो सँगै त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

तीन नेताबीच राजनीतिक विषयमा समेत केही छलफल भएको र नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निष्कर्षमा पुग्ने समझदारी भएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपाल डिस्चार्ज भएपछि गठबन्धनको बैठक बस्ने जानकारी दिए । ‘गठबन्धन कायम राखेर जाने समझदारी छ, अब गठबन्धन दलको औपचारिक बैठक बसेर निर्णय आउँछ,’ खनालले भने । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूबीच अनौपचारिक छलफल भएको र केही दिनमै निष्कर्ष निस्किने दाबी गरे । ‘विभिन्न तहमा कुराकानी चलिरहेको छ, केही दिनमै निष्कर्ष निस्कन्छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने । गठबन्धनको बैठक राख्ने विषयमा पनि छलफल भइरहेको पनि उनले बताए । 

माओवादी महासचिव देव गुरुङले गठबन्धनको बैठकमा शक्ति बाँडफाँडबारे अब चाँडै नै औपचारिक छलफल हुने बताए । ‘देउवा दलको नेता चयनसँगै गठबन्धनको बैठक बस्छ । त्यहाँ हुने छलफलका आधारमा अगाडि बढ्ने हुन्छ,’ उनले भने । माओवादीले बिहीबार संसदीय दलको नेता चयन गर्दै छ । सत्तारूढ गठबन्धनका अन्य पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न १० पुससम्मको समय दिएकी छिन् । तर, दलहरूबीच शक्ति बाँडफाँडबारे औपचारिक छलफल सुरु भएको छैन ।

दलहरूले आग्रह गरे राष्ट्रपतिले केही समय थप्न सक्नेछिन् । दलहरूले आग्रह गरे सरकार गठनका लागि थप तीन दिन समय दिने अभ्यास छ । यद्यपि, सत्तारूढ दलहरूले आन्तरिक गृहकार्य भने जारी राखेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुखलगायत पद प्याकेजमै टुंग्याउने नेताहरूको तयारी छ । अबको केही दिनमा सरकार बन्नेछ भने राष्ट्रपति चयनका लागि अझै दुई महिना समय छ । 

शक्ति बाँडफाँडको विषयमा कांग्रेसमा औपचारिक छलफल भएको छैन । तर, माओवादी र एकीकृत समाजवादीमा भने प्रारम्भिक छलफल गरेका छन् । माओवादीको मुख्य दाबी प्रधानमन्त्री र एकीकृत समाजवादीको राष्ट्रपतिमा छन् । कांग्रेस नेताहरूले राष्ट्रपति र प्रधानमन्त्री दुवै दाबी गरेका छन् । संसदीय दलको नेतामा निर्वाचित भएसँगै प्रधानमन्त्रीमा कांग्रेसबाट देउवा प्रधानमन्त्रीका एक्ला दाबेदार भएका छन् । यसअघि देउवा, महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला र प्रकाशमान सिंह आकांक्षी थिए । कांग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ । 

कांग्रेसले राष्ट्रपति पाउँदा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माले दाबी गरेका छन् । विश्वकर्माले राष्ट्रपति नभए उपराष्ट्रपति पाउनुपर्ने दाबी गरेका छन् । सभामुखमा अर्जुननरसिंह केसीले लबिङ गरेका छन् ।प्रधानमन्त्री आलोपालो हुने सहमति निर्वाचनअघि नै भएको थियो । तर, पहिला प्रधानमन्त्री को भन्ने विषयमा बहस भइरहेको छ ।

माओवादीले सुरुमै प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेको छ । सुरुको कार्यकालमा प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना छ । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुख दाबी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख गठबन्धनका प्रमुख तीन दलले लिनुपर्ने मत समाजवादीको छ । माओवादीबाट प्रचण्ड प्रधानमन्त्रीका एक्ला दाबेदार छन् । राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान सभामुख अग्नि सापकोटा र उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा दाबेदार छन् । सभामुखमा माओवादीबाट शक्ति बस्नेत, देवेन्द्र पौडेल र रेखा शर्माले आकांक्षा राखेका छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिमा दाबी गर्ने रणनीति लिएको छ । एकीकृत समाजवादीबाट राष्ट्रपतिमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनाल दाबेदार छन् । समाजवादीलाई सभामुख भागमा परे उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्र पाण्डे मुख्य दाबेदार छन् । स्थायी कमिटी सदस्य भानुभक्त जोशी पनि दाबेदार छन् ।

कमेन्टहरु