राजनीति

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, रवि लामिछानेलाई शपथ लिन बाटो खुल्यो

नवलपुर टुडे
२०७९ पुस ६ | मध्यान्ह ०२:०९ बजे

काठमाडौ, पुस ६ । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संवैधानिक अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लामिछानेलाई सांसद पदको शपथग्रहण गर्न बाटो खुलेको छ ।

लामिछानेको नेपाली नागरिकता रद्द भइसकेको अवस्थामा नागरिकताको प्रतिलिपी प्रयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद, साधारण सदस्यता तथा निर्वाचनका प्रक्रिया बदर गर्न माग गर्दै युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए । साथै उनीहरूले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिन रोक्ने आदेश माग गरेका थिए । 

तर, बुधबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अन्तरिम आदेश अस्वीकार गरेको हो । 

संवैधानिक इजलासले दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ । लिखित आदेश आउन बाँकी रहेकाले दुवै पक्षलाई कहिले छलफलमा बोलाइएको हो भन्ने खुल्न बाँकी छ । 

कमेन्टहरु