राजनीति

शपथपछि मात्रै माओवादीले संसदीय दलको नेता चयन गर्ने

नवलपुर टुडे
२०७९ पुस ५ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं, पुस ५ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।

नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिए । शपथपछि संसदीय दलको बैठक बस्ने उनको भनाइ छ ।

माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उनको दाबी छ । ‘दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो’, उनले भने, ‘संसदीय दलको नेता प्रचण्ड नै हो ।’ 

संघीय संसद सचिवालयले यही पुस ७ गते प्रतिनिधि सभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधि सभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कूल ३२ सांसद छन् ।

केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो ।

कमेन्टहरु