राजनीति

काम चलाउ सरकारले अध्यादेश ल्याउनु आपत्तिजनक छ : राप्रपाका प्रवक्ता श्रेष्ठ

नवलपुर टुडे
२०७९ मंसिर २६ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं, मंसिर २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले काम चलाउ सरकारले अध्यादेश ल्याउनु आपत्तिजनक रहेको बताएका छन् । उनले केही दिनभित्र नयाँ संसद बैठक सुरू हुने अवस्थामा काम चलाउ सरकारले संसद छलेर अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेको बताएका हुन् ।

सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारले मन्त्रिपरिषद बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याउनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीति रहेकोले राष्ट्रपतिले काम चलाउ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्ने श्रेष्ठले बताए ।

‘निर्वाचनबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र नयाँ संसदको बैठक सुरू हुने अवस्थामा कामचलाऊ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘देउवा नेतृत्वको सरकार बनेको डेढ वर्षसम्म रेशम चौधरीको रिहाइ लक्षित अध्यादेश ल्याउन कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी सुरूवात हो ।’

कमेन्टहरु