बालकोटमा ओली र केसीबीच भेटवार्ता


काठमाडौं, मंसिर २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नवनिर्वाचित सांसद अर्जुन नरसिंह केसीबीच भेटवार्ता भएको छ । नेता केसी ओलीलाई भेट्न आइतबार साँझ उनको निवास बालकोट पुगेका हुन् ।
ओलीकै निमन्त्रणामा केसी बालकोट पुगेको थिए । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको केसीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले बताएका छन् ।
जनजीविकाका सवालमा उठेका आवाजहरू सामूहिक रूपमा समाधान गर्ने पनि दुई नेताले प्रतिबद्धता जनाएका थिए । यसका साथै द्वन्द्वकालीन मुद्दाहरू पनि किनारा लगाउने, चुच्चे नक्सा अनुसारको भूगोल नेपालको हुनुपर्ने भारतीय पक्षसँग वार्ता गर्न दलहरू एकमत हुने विषयमा छलफल भएको थियो ।
भ्रष्टाचारविरुद्ध एक भई लड्नुपर्ने र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने दुई नेताको जोड रहेको थियो ।






















