तिहार र छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे १ लाखसम्म जरिवाना

नवलपुर टुडे
२०७९ कार्तिक ३ | बिहान ०८:०७ बजे

काठमाडौं, कात्तिक ३ । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ ।
आउँदै गरेको तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।
गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।
विभागको अनुगमनका क्रममा उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने मन्त्रालयले जनाएको छ ।























