म्याग्दीको अन्धगल्छी, रुप्से झरना र बाजाढुंगा गुफा जोड्ने पदमार्ग निर्माण

नवलपुर टुडे


म्यादी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो ।
यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए । रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको शसर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २० लाख विनियोजन गरेको थियो ।
अनुदान बाहेक थप रु दुई लाख १९ हजार चार सय ७८ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताए । काभ्रे गाउँको बेनी–जोमसोम सडकदेखि रुप्से झरना हुँदै बाजाढुङ्गा जोड्ने उकालो बाटोमा ढुङ्गाको सिँढीको करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ ४०० मिटर रेलिङ राखिएको छ ।
पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुङ्गा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुङ्गा सम्म पुग्ने साँघुरो र जोखिमयुक्त बाटो पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुङ्गाका चुचुरा हेर्दा पञ्चेबाजाका आकृति देखिन्छन् । यी आकृतिको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कने गर्छ । ढुङ्गाको अलौकिक कला र सङ्गीत आश्चर्यजनक छ ।
छङछङ गर्दै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङखसमेतलाई अवलोकन गर्न सकिन्छ । काभ्रे गाउँदेखि ३० मिनेट पैदल हिडेपनि बाजाढुङ्गा पुग्न सकिन्छ । यस ढुङ्गाको नजीक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समीपमै रहेकाले यस क्षेत्रको एकीकृत पर्यटन विकासमा जुटेको वडा सदस्य पुनले बताए ।
धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुङ्गा नजीकको दूरीमा छन् । तीन वटै पर्यटकीय स्थललाई समेटेर काभ्रे गाउँको प्रवेशद्वारमा जानकारीमुलक होडिङ बोर्ड राख्न पहल गरिएको रुप्से सङ्गम युवा क्लबका अध्यक्ष सुनिल पाइजाले बताए । रासस

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















