राजनीति

एमाले परित्याग गरेका पूर्वमेयर राना सत्ता गठबन्धनबाट उम्मेदवार बन्दै

नवलपुर टुडे
२०७९ अशोज २३ | बिहान १०:०६ बजे

विर्तामोड । झापा अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हरि रानाले एमाले परित्याग गरेका छन् । टिकट नपाएपछि उनले पार्टी परित्याग गरेको बताएका हुन् ।

एमाले परित्याग गरेका राना झापा-२ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवार बन्न लागेका छन् । उनलाई उम्मेदवार बनाउन गठबन्धन दलबीच छलफल जारी छ । गठबन्धनमा झापा- २ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । उक्त क्षेत्रबाट माओवादीले धर्मशीला चापागाईंलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, चापागाईंले उम्मेदवार बन्ने इच्छा नदेखाएपछि रानालाई माओवादीको चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।

गठबन्धनबाट चुनाव लड्नेबारे अन्तिम छलफल भइरहेको एमाले परित्याग गरेका रानाले जानकारी दिए । उनले भने, ‘मैले स्वेच्छाले एमाले परित्याग गरेको हुँ । गठबन्धनबाट चुनाव लड्ने विषयमा छलफल भइरहेको छ । माओवादी नेतृ धर्मशीलाजीसँग कुराकानी भइसक्यो । उहाँले झापा-२ बाट उम्मेदवार बन्न मलाई प्रस्ताव गर्नुभयो । यो विषयमा अन्तिम निर्णयमा पुग्न गठबन्धनका नेताहरूसँग छलफल भइरहेको छ ।’ ०३९ मा ‘एक्टिभ ग्रुप’ बाट पार्टीमा सक्रिय रहँदै आएका राना एमालेबाटै २०४९ र ०५४ मा गरी दुईपल्ट तत्कालीन शनिश्चरे गाविसको अध्यक्ष तथा २०७४ मा अर्जुनधारा नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।

उनले झापा २ ‘ख’ मा प्रदेशसभा सदस्यका लागि पार्टीभित्र टिकट दाबी गर्दै आएका थिए । तर, पार्टी लाइन नमिलेपछि एमालेले उनलाई टिकट दिएन ।

कमेन्टहरु