माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन सक्दैन : शहरीमन्त्री चौधरी


काठमाडौं, भदौ १८ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं शहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् ।
एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले माधव नेपालले लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको र शान्ति, संविधान र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेको नेता भएकाले उनले नेतृत्व गरेका पार्टी कहिल्यै कमजोर नहुने दाबी गरे ।
पार्टी विद्रोहको औचित्यबारे सुनाउँदै मन्त्री चौधरीले भने- ‘तपाईँहरुलाई माधव नेपालले किन विद्रोह गर्नुपर्यो, राजेन्द्र पाण्डे, गंगालाल तुलाधरले किन विद्रोह गर्नुपर्यो भन्ने पक्कै लागेको होला । यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो । त्यत्रो ठुलो पार्टी बनाएर पनि हुँदो रहेनछ भन्ने जनतामा मनोविज्ञान निर्माण हुने थियो । अर्को कुरा कम्युनिष्टहरु तानाशाही हुन्छन् । संवैधानिक सर्वोच्चता मान्दैनन् भन्ने कुरा स्थापित हुन्थ्यो । हो, यस्ता प्रश्नहरूको हामीले जवाफ दिनुपर्ने भयो । अझै पनि मुलुकमा कम्युनिष्ट आन्दोलनको औचित्य छ र यसलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता भयो । जनताले पहिलोपटक बनाएको संविधान जोगाउनुपर्नेभयो ।’
करिब एक घण्टा आफ्नो मन्तव्य राखेका मन्त्री चौधरीले ओली नेतृत्वको एमाले सबैभन्दा भ्रष्ट, सबैभन्दा घुसखोरी र सबैभन्दा धेरै दलालहरूको अखडा बनिसकेपछि विद्रोह अनिवार्य बनेको धारणा राखे । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोग सदस्य कृष्णहरि श्रेष्ठ, जिल्ला सचिव सुवास खतिवडा, तामाङ महासंघका केन्द्रीय उपाध्यक्ष वीरबहादुर तामाङ लगायतले आफ्ना भनाई राखेका थिए ।






















