कार्यदलको बैठक बस्दै, संघ र प्रदेशको सीट सँगसँगै टुंग्याउने तयारी


काठमाडौं, भदौ १२ । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाको सीटको बाँडफाँड सँगसँगै गर्ने तयारी गरेको छ । गठबन्धनले सीट बाँडफाँड गर्न गत साउन २१ गते कार्यदल गठन गरेको थियो।
कार्यदलले विभिन्न चरणमा छलफल गरे पनि टुंगोमा पुग्न सकेको छैन । अब भने सीट बाँडफाँडको अन्तिम चरणमा पुगेको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। यसका लागि आज अपराह्न ४ बजे कार्यदलको बैठक बस्न लागेको उनले जानकारी दिए । आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सीट बाँडफाँडको टुंगो लगाउने तयारी गरिएको उनको भनाइ छ।
कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाको सीटको बाँडफाँड सँगसँगै गर्ने गृहकार्य गरिरहेको कार्कीले जानकारी दिए । शुक्रबार बसेको कार्यदलको बैठकमा पाँचै पार्टी आआफ्नो सीटको दाबी पेश गरेका थिए। सबैले बढीबढीभन्दा सीटको दाबी गरेको भए पनि सहमति जुट्ने मन्त्री कार्कीको भनाइ छ । यसअघि कार्यदल अलमलमा परेपछि शीर्ष नेताको बैठकमा सीट बाँडफाँडको विषयमा छलफल भएको थियो।
शीर्ष नेताको बैठकले प्रतिनिधिसभाका १६५ वटै क्षेत्रको अवस्थासहित प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । जसअनुसार, कार्यदल फेरि छलफलमा जुटेको हो। कार्यदलले प्रतिनिधिसभाका १६५ वटै सीटमा छलफल गरिसकेको छ भने अब प्रदेशसभाका सीटका विषयमा छलफल हुने जनाइएको छ।






















