राजनीति

माओबादीलाई जिताउने वाइसीएललाई प्रचण्डको निर्देशन

नवलपुर टुडे
२०७९ भदौ ३ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं, भदौ ३ । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीलाई जिताउने गरी लाग्न युवाहरुलाई निर्देशन दिएका छन् ।

पार्टीको भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)को राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले २०६४ सालको निर्वाचनमा जस्तै चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । उनले निर्वाचनको महासंग्राम आइसकेकाले रिल्याक्स गरेर बस्ने ठाउँमा नभएको भन्दै अर्जुनदृष्टि परिवर्तनको पक्षलाई बिजयी बनाउन केन्द्री भएर लाग्नुपर्ने बताए ।

विगतका निर्वाचनमा जस्तै यसपाली पनि वाइसीएलले सशक्त भूमिका निर्वाह गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । ‘पछिल्लो समयमा संविधानको सकारात्मक विषयहरु मेटिने त होइन, निरंकुशतातर्फ धकेलिने त होइन भन्ने वाईसीएल नेपाल र तपाईं युवाहरूले भूमिका कसरी निर्णायक हुनुपर्छ। चाहे सडकमा होस् वा चुनावमा होस् तपाईंहरूको भूमिका निर्णायक हुनुपर्छ ।

क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने । प्रचण्डले बामपन्थीहरुलाई एकतावद्ध गर्न र कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाई समाजवादको यात्रामा अघि बढ्ने गरी छलफल चलाइरहेको पनि बताए ।

कमेन्टहरु