दुई किलो युरेनियम जस्तो पदार्थसहित १५ जना पक्राउ


काठमाडौं, साउन ४ । मोरङ प्रहरीले युरेनियम जस्तो पदार्थसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरको छुट्टाछुट्टै स्थानबाट दुई समूहलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका १५ जनालाई सार्वजनिक गरेको छ ।
त्यो पदार्थ युरेनियम जस्तै देखिएको तर युरेनियम नै हो भन्ने पुष्टि भइनसकेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । प्रहरीले गत आइतबार विराटनगर महानगरपालिका-९ ट्राफिक चोकस्थित ठुल्दाइको होटलबाट एक समूहलाई पक्राउ गरेको हो । विशेष सूचना पाएपछि खटिएको टोलीले सुरूमा आठ जनालाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट एक किलो ८७.३ ग्राम युरोनियम जस्तो पदार्थ बरामद भएको थियो ।
पक्राउ पर्नेमा धनपालथान गाउँपालिका-७ बस्ने ४१ वर्षीय शिवशंकर, ३७ वर्षीय मुकेशकुमार साह, ४३ वर्षीय प्रदीप पुरी, कटहरी गाउँपालिका-२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर-१२ बस्ने ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका-७ का ३५ वर्षीय गोपाल मगर, खोटाङ हलेसी नगरपालिका-९ बस्ने ३२ वर्षीय किरन राई र धनपालथानका ४४ वर्षीय लक्ष्मण शर्मा रहेका छन् ।
उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले थप गिरोहलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । मंगलबार दिउँसो साढे १२ बजे विराटनगर-३ स्थित दूधफारमबाट थप मानिसहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका-८ बस्ने ४५ वर्षीय जीवन गुरूङ, महोत्तरी मंगाहा नगरपालिका-६ बस्ने ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका-१२ बस्ने ३० वर्षीय चन्दनकुमार महतो, ५५ वर्षीय रवीन्द्र गच्छदार, मकवानपुरका ३६ वर्षीय दिपकबहादुर भ्लोन, ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका-५ बस्ने २८ वर्षीय श्याम घिमिरे रहेका छन् ।
प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनीहरूले युरोनियम जस्तो देखिने पदार्थ भारतीयलाई बेच्ने लागिरहेका थिए । उनीहरू होटलमा बसिरहेको खबर पाएपछि प्रहरीले होटेलबाटै उनीहरूलाई पक्राउ गरेको हो । कतिमा बेच्न लागेका थिए भन्ने पनि नखुलेको मोरङ प्रहरीले जनाएको छ ।
बरामद भएको पदार्थ युरेनियम हो वा होइन भन्ने पुष्टि गर्नको लागि सो पदार्थ काठमाडौंस्थित खानी तथा भूगर्भ विभागमा पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
























